Modern technology gives us many things.

एमालेले विधान अधिवेशनका लागि सुझाव संकलन सुरु गर्ने

काठमाडौं, साउन ७ :नेकपा एमालेले आगामी भदौमा हुने विधान अधिवेशनका लागि सुझाव संकलन प्रक्रिया सुरु गरेको छ ।

पार्टी केन्द्रीय कमिटीको मंगलबार राति सम्पन्न बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका निर्णयहरू आजैदेखि तल्ला कमिटीहरूमा पठाएर छलफलमार्फत सुझाव संकलन गरिने जानकारी दिए । उनका अनुसार निश्चित समयसीमा तोकेर सुझाव लिने तयारी गरिएको छ । ती सुझावहरू समेटेर अधिवेशनमा प्रस्तुत गरिनेछ ।

गौतमले एमाले सचिवालयले केन्द्रीय कमिटी र पदाधिकारीको संख्याबारे अघि सारेको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको बताए । यस्तै, जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउने सुझावलाई अस्वीकार गर्दै कार्यकारी स्वरूपमै रहने निर्णय पनि भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता दुई तहमा विभाजन गरिने स्पष्ट पारेका छन् — एक, पार्टीको संगठित सदस्यता; अर्को, साधारण पार्टी सदस्यता ।

अध्यक्ष ओलीले जिल्ला कमिटीलाई राज्य संयन्त्र अनुरूप समन्वय संरचना बनाउने प्रस्ताव अस्वीकार गर्दै अहिलेको राजनीतिक र सांगठनिक परिवेशमा कार्यकारी ढाँचामा नै लैजानु उपयुक्त हुने धारणा राखेका थिए ।

बैठकले केन्द्रीय कमिटी सदस्य संख्या २५१ राख्ने, त्यसको एक तिहाइ पोलिटब्युरो बनाउने निर्णयसमेत गरेको गौतमले जानकारी दिए । उनका अनुसार, “कमिटीहरूलाई छरितो, चुस्त र दुरुस्त बनाउन पदाधिकारी तथा केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय भएको हो ।”

Leave A Reply

Your email address will not be published.