Modern technology gives us many things.

एनपीएलका खेलहरू रातिमा, त्रिवि मैदानमा फ्लडलाइटमा खेलाउने तयारी

 काठमाडौं  साउन ७:नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइटको सुविधा सुरु भएपछि रातिको खेल सम्भव हुने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमार्फत त्रिवि मैदानमा रातिको खेल सञ्चालनको योजना सार्वजनिक गरेका हुन् । क्यानका प्रवक्ता छुम्बी लामाले पनि उक्त योजना पुष्टि गर्दै भने, “अहिले त्रिवि क्रिकेट मैदान निर्माणको काम भइरहेकाे छ, काम समयमा सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो ।”

एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बर महिनामा गर्ने तयारी छ । त्यसअघि अगस्टमा मिनी अक्सनको कार्यक्रम तय गरिएको छ । खेलाडी दर्ता प्रक्रिया हालै सकिएको छ भने केही दिनमै खेलाडीको अन्तिम सूची सार्वजनिक गरी अक्सनको मिति तय गरिने प्रवक्ता लामाले जानकारी दिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हाल स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । पहिलो चरणमा १५ हजार दर्शक क्षमता रहेको प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडानको कार्य भइरहेको छ । निर्धारित समय (असार मसान्त)भित्र काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको क्यानले जनाएको छ ।

रातिको खेल सुरु भएसँगै नेपाली क्रिकेटमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.