गाजामा मानवीय संकट गहिरिँदै, डब्ल्यूएचओको गोदाम र कर्मचारी निवासमाथि इजरायली आक्रमणको आरोप
गाजा, साउन ७ : इजरायलको आक्रमण जारी रहँदा गाजामा मानवीय संकट झनै भयावह बन्दै गएको छ। दैनिकजसो इजरायली सेनाको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम नरोकेको बेला भोकमरी र खाद्य संकट पनि तीव्र बनेको छ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको डेइर अल–बलाह शहरमा रहेको आफ्ना कर्मचारीको आवास र प्रमुख गोदाममाथि इजरायली सेनाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। बीबीसीका अनुसार, आक्रमणका कारण ठूलो आगलागी भएको र डब्ल्यूएचओका कर्मचारी तथा उनका परिवारहरू ज्यानको गम्भीर जोखिममा परेका छन्।
समाचार स्रोतहरूका अनुसार, इजरायली सुरक्षाकर्मीहरूले घटनास्थलमा पुरुष कर्मचारीहरूको लुगा खोसेर बन्दुकको नोकमा सोधपुछ समेत गरेका थिए। यद्यपि, डब्ल्यूएचओले लगाएको यस गम्भीर आरोपबारे इजरायली पक्षबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
यसअघि आइतवार, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले डेइर अल–बलाहका स्थानीय बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न चेतावनी दिएको थियो। त्यसको भोलिपल्ट सोमवार, इजरायली ट्याङ्करहरू पहिलोपटक शहरको दक्षिणी तथा पूर्वी भागमा प्रवेश गरेका थिए।
गाजामा लामो समयदेखि जारी हिंसा र नाकाबन्दीका कारण खाद्यान्न, पानी र स्वास्थ्य सेवाको अभाव चुलिंदै गएको छ। यस्ता हमलाहरूले मानवीय संकटलाई अझ भयावह बनाएको अन्तर्राष्ट्रिय संस्थाहरूले चेतावनी दिइरहेका छन्।