एनआरएनए मलेसिया : साझा संस्था कि राजनीतिक अखडा ?
क्वालालम्पुर, मलेसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २२ वर्ष पूरा गर्न थाल्दै गर्दा, विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै साझा संस्थामा संगठित गर्ने सपना अझै अधुरो देखिन्छ। विशेषतः मलेसियामा ८ लाखभन्दा बढी नेपालीको उपस्थिति रहेको अवस्थामा, एनआरएनए मलेसिया अहिले राजनीतिक ध्रुवीकरण र गुटबन्दीको चपेटामा परेको स्पष्ट देखिन थालेको छ।
स्थापनाकालीन उद्देश्यअनुसार, गैरआवासीय नेपाली संघ विशुद्ध अराजनीतिक, सामाजिक तथा नेपाली प्रवासीहरूको हितमा काम गर्ने संस्था हो। तर पछिल्लो समय मलेसियामा हुने एनआरएन निर्वाचनलाई लिएर नेपाली राजनीतिक दलका भातृ संगठनहरूले खेल्न थालेको भूमिकाले संस्थाको निष्पक्षता र विश्वसनीयतामै प्रश्न उठाउन थालेको छ।
राजनीतिक आस्थाले छोपिएको सामाजिक संस्था
एनआरएन मलेसियाको चुनावी माहोल चुलिंदै जाँदा, उम्मेदवारहरू नेपाली कांग्रेस, एमाले वा अन्य दलहरूको समर्थन लिई आफ्नो पक्षमा प्रचारमा जुटेका छन्। सामाजिक सञ्जालमा चुनावी गतिविधिहरू भोट माग्ने माध्यम मात्र नभई, विपक्षी पक्षलाई गिराउने हतियार बन्दै गएको छ। एउटै एनआरएनलाई दुई खेमा बनाएर कित्ताकाट गर्ने प्रवृत्तिले संस्था विभाजित मात्र होइन, कमजोर बन्दै गएको आशंका बढाएको छ।
एक अभियन्ता भन्छन्, “प्यानल बनाएर महिनौंदेखि प्रचारमा लाग्ने, पार्टीको झोला बोकेर एनआरएन घुम्नेहरूले अब श्रमिकका कुरा किन गर्लान् र? यो अब साझा संस्था होइन, राजनैतिक भर्ती केन्द्र बनेको छ।”
श्रमिकको नाममा राजनीति – चिन्ताको विषय
एनआरएनएले प्रवासी नेपालीका हकहितका विषयमा आवाज उठाउने वाचा गरे पनि, वास्तविकता फरक देखिन्छ। श्रमिकका समस्या – भिसा, बास, स्वास्थ्य, बिमा, कामको शोषण जस्ता मुद्दा ओझेलमा परेका छन्। बरु, संस्थाभित्र गुटबन्दी र आन्तरिक टकरावले श्रमिकको पक्षमा भन्दा नेताको प्रचारमा बढी ऊर्जा खर्च हुने गरेको आरोप छ।
“एनआरएनए श्रमिककै सवालमा कहिल्यै उभिएन,” मलेसियामा सक्रिय एक अभियन्ता भन्छन्, “श्रमिकहरूलाई त भोटको संख्याको रुपमा मात्रै हेर्ने गरिन्छ। चुनाव सकिएपछि उनीहरू पुनः बेवास्तामा पर्छन्।”
सहमतिको खोल मुनि कटु यथार्थ
अहिलेको कार्यकालमा सहमतिका नाममा दुई समूहबीच कार्यकाल आधा-आधा बाँड्ने व्यवस्था गरिएको थियो। तर व्यवहारमा सहमतिको खोलमुनि गहिरो अविश्वास देखिएको छ। साझा प्रेश विज्ञप्ति आएको भोलिपल्ट अर्को विज्ञप्तिमा कटाक्ष गरेर आफू छुट्टै रहेको प्रमाणित गर्न खोजिन्छ।
यो द्वन्द्वले संस्थाभित्रको अस्थिरता मात्रै होइन, नेपाली समुदायभित्र पनि द्वन्द्व र मनोवैज्ञानिक दूरी बढाउने काम गरिरहेको छ। प्रश्न उठ्छ – के यो संस्था साँच्चिकै नेपालीहरूको साझा चौतारी हो, कि राजनीतिक र आर्थिक स्वार्थमा चल्ने गुटहरूको प्रयोगशाला?
संवेदनशील मोडमा एनआरएन मलेसिया
निर्वाचन नजिकिंदै गर्दा मलेसियामा रहेका नेपालीहरू चिन्तित छन्। भविष्यमा गुटबन्दीले संस्थालाई झन कमजोर पार्ने डर छ। सामाजिक सञ्जालमा हुने तीव्र प्रतिस्पर्धा र वाकयुद्धले संस्था प्रतीको आस्था घट्दै गएको देखिन्छ।
“यदि अहिले पनि नेतृत्वमा नयाँ सोच, समर्पण र श्रमिकका पक्षमा उभिने युवा प्रवेश गर्न सकेनन् भने, यो संस्था केवल नेताहरूको क्लबमा सीमित हुनेछ,” एक सामाजिक अभियन्ताले चेतावनी दिए।
अब के गर्ने ?
गैरआवासीय नेपाली संघलाई वास्तविक सामाजिक संस्था बनाउनको लागि राजनीति होइन, समाजसेवा गर्ने युवा नेतृत्व आवश्यक छ। पुस्ता हस्तान्तरणको बेला आएको छ – जहाँ पुराना गुट र नातावादको सट्टा श्रमिक, युवा र प्रगतिशील सोच बोकेको नेतृत्व अगाडि आउनुपर्छ।
मलेसियामा रहेका लाखौं नेपाली श्रमिकहरू केवल मतदाता होइनन् – उनीहरू संस्थाको मेरुदण्ड हुन्। अबको नेतृत्वले उनीहरूलाई प्रतिनिधित्व गर्नुपर्छ, उपयोग होइन।