अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा आगामी भोलिदेखि अर्थात् अगस्ट १ तारिखदेखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा पोस्ट गर्दै भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण तथा ऊर्जा खरिद गरिरहेको उल्लेख गर्दै यस्तो व्यापार व्यवहार स्वीकार्य नहुने टिप्पणी गर्नुभएको हो । उहाँले सोही कारण भारतले अबदेखि २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने चेतावनी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भारत र अमेरिकाबीच केही महिनादेखि निष्पक्ष तथा पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेको भए पनि हालसम्म कुनै औपचारिक सम्झौता सार्वजनिक भइसकेको छैन ।
ट्रम्पको घोषणापछि भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्रतिक्रिया दिँदै, अमेरिकी भनाइको अध्ययन भइरहेको र यसको सम्भावित असरबारे विश्लेषण भइरहेको जानकारी दिएको छ ।
यस घटनालाई लिएर भारतीय राजनीतिक वृत्तमा पनि प्रतिक्रिया देखिएको छ । विपक्षी कांग्रेस पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँगको घनिष्ठ सम्बन्धलाई विदेश नीति विफलताको संज्ञा दिँदै देशले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आएको आरोप लगाएको छ ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केही सांसदले भने अमेरिका र भारतबीच फेरि संवाद थाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले ‘एयर फोर्स वन’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै भारतमाथि कडा भन्सार कर लगाउने संकेत दिनुभएको थियो ।