तलब रोक्ने प्रधानाध्यापकमाथि कारबाही हुने चेतावनी
काठमाडौं :शिक्षकहरूले लामो समयदेखि तलब नपाएको गुनासो उठाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तलब रोक्ने विद्यालय प्रमुखहरूलाई कडा चेतावनी दिनुभएको छ।
मन्त्री पुनका अनुसार मन्त्रालयबाट सम्बन्धित विद्यालयहरूमा तलब रकम पहिले नै पठाइसकिएको भए पनि केही प्रधानाध्यापकहरूले शिक्षकहरूलाई तलब वितरण नगरेको जानकारी आएको छ। उहाँले यस्तो लापरबाही र गैरजिम्मेवार व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्दै “भोलिसम्म पनि तलब निकासा नगर्ने प्रधानाध्यापक विरुद्ध कडा कारबाही गरिनेछ” भन्नुभयो।
शिक्षक संघ र संगठनहरूले पनि तलब वितरणमा ढिलाइ भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। मन्त्रालयले स्थानीय तह र विद्यालय व्यवस्थापन समितिहरूलाई समयमै तलब वितरण सुनिश्चित गर्न निर्देशन दिइसकेको छ।