सिर्सिया नाकामा तस्करीको ताण्डव: समाचार दबाउन ‘बिचौलिया’ पत्रकार र घुमुवा प्रहरीको गम्भीर षड्यन्त्र, मोटो रकमको बार्गेनिङ
बारा, १२ असार । पर्साको सीमावर्ती क्षेत्रमा अवस्थित प्रहरी चौकी सिर्सिया मातहतका नाकाहरूबाट व्यापक रूपमा तस्करी भइरहेको समाचार सार्वजनिक भएपछि तस्करी संजाल, केही कथित सञ्चारकर्मी र स्थानीय घुमुवा प्रहरीमा तीव्र छटपटी सुरु भएको छ। यस अनलाइनमा केही दिनअघि प्रकाशित खोजमूलक समाचारलाई दबाउन र हटाउनका लागि पर्साका कतिपय बिचौलिया तथा आफूलाई ‘वरिष्ठ’ दाबी गर्ने पत्रकारहरू र प्रहरीका घुमुवा कर्मचारी नै गम्भीर षड्यन्त्रमा लागेका छन्।
सम्बन्धित समाचार हटाउन दबाब दिने उद्देश्यले ती कथित वरिष्ठ पत्रकारहरूले यस सञ्चार संस्थाका सञ्चालकहरूमाथि अनर्गल र आधारहीन आरोप लगाउँदै आफ्नो पदीय मर्यादाको धज्जी उडाएका छन्।
घुमुवा प्रहरी मनिष मगरको ‘रणनीतिक’ बार्गेनिङ र प्रपञ्च
यसैबिच, प्रहरी चौकी सिर्सियामा कार्यरत घुमुवा प्रहरी मनिष मगरको एउटा गम्भीर र आपत्तिजनक प्रपञ्च बाहिर आएको छ। उनले केही व्यक्तिहरूलाई माध्यम बनाएर यस अनलाइन खबरका सञ्चालकलाई बार्गेनिङ (आर्थिक लेनदेनको कुराकानी) गर्न उक्साउने गरेको पाइएको छ।
एकजना जिम्मेवार राष्ट्रसेवक सुरक्षाकर्मीले कानुनी दायरामा रहेर तस्करी नियन्त्रण गर्नुको साटो, उल्टै समाचार दबाउन ‘हनी ट्र्यापिङ’ वा ‘ब्ल्याकमेलिङ’ जस्तो आपराधिक शैली अपनाउन खोज्नुले प्रहरी प्रशासनको छविमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
प्रहरी इन्चार्जलाई भ्रममा पार्ने खेल
विशेष स्रोतका अनुसार, प्रहरी चौकी सिर्सियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) मानबहादुर जिम्बालाई संरक्षणको आश्वासन दिँदै केही स्वघोषित पत्रकारहरूले ‘यो मिडिया कतै दर्ता नभएको’ भन्दै भ्रम फैलाउने कुचेष्टा गरेका छन्। “तपाईं ढुक्क भएर काम (सेटिङ) गर्नुस्, यो समाचारले केही फरक पर्दैन” भन्दै उनीहरूले प्रहरी प्रशासनलाई समेत गुमराहमा राख्न खोजेको पाइएको छ।
समाचार हटाउने र ‘मिलाइदिने’ बहानामा ती कथित पत्रकारहरूले प्रहरी चौकी र सञ्चार संस्था दुवैतर्फ बार्गेनिङ गरिरहेको र यस संस्थाका आधिकारिक व्यक्तिलाई फोन गरेर दबाब सृजना गर्न खोजेको पुष्टि भएको छ। फोन गर्ने तथाकथित वरिष्ठ भनिने व्यक्तिको मोबाइल नम्बर हाल सुरक्षित राखिएको र आवश्यक परेमा उक्त प्रमाण जनसमक्ष सार्वजनिक गरिने यस संस्थाले चेतावनी दिएको छ।
प्रहरी इन्चार्जको फोन र लाचारी
यसैबिच, चौतर्फी दबाब र तस्करीको पोल खुलेपछि सिर्सिया चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) मानबहादुर जिम्बाले यस संस्थाका सञ्चालकलाई सिधै फोन गरेर आफ्नो लाचारी व्यक्त गरेका छन्। फोन संवादका क्रममा उनले “म यो ठाउँमा बस्ने छैन, मिल्छ भने यो समाचार हटाइदिनुस्” भन्दै आग्रह गरेका थिए। राज्यको शान्ति सुरक्षा र सीमा अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएका जिम्मेवार प्रहरी अधिकृत नै तस्कर, बिचौलिया र आफ्नै मातहतका घुमुवाको चंगुलमा परेर यसरी निरीह बन्नुले सीमा क्षेत्रको सुरक्षा अवस्था कति कमजोर छ भन्ने प्रष्ट पार्छ।
सीमामा तस्करी अझै जारी: माथिल्लो निकाय मौन किन?
सबैभन्दा लज्जास्पद र गम्भीर कुरा के छ भने, सिर्सिया नाकाबाट भइरहेको अवैध ओसारपोसार र तस्करीका विरुद्ध पटक-पटक विभिन्न सञ्चारमाध्यममा प्रमाणसहितका समाचार सम्प्रेषण हुँदा पनि उक्त नाकाहरूमा तस्करी नियन्त्रण हुन सकेको छैन। तस्करीको जालो अहिले पनि उत्तिकै सक्रिय छ, जसले स्थानीय प्रहरी प्रशासन, घुमुवा संयन्त्र र तस्करबिचको गहिरो ‘कनेक्सन’ रहेको आशंकालाई थप बल पुर्याएको छ।
मिडियाको मुख थुनेर, प्रलोभन देखाएर र प्रहरीलाई भ्रममा पारेर सीमा क्षेत्रमा राज्यको राजस्व र सुरक्षामाथि खेलबाड गर्ने यस्ता कृत्यहरूका विरुद्ध यो सञ्चार संस्था विचलित नभई निरन्तर उभिरहने प्रतिबद्धता व्यक्त गर्दछ। घुमुवा प्रहरी मनिष मगर र कथित बिचौलिया पत्रकारहरूको यो संगठित सञ्जालमाथि जिल्ला प्रहरी कार्यालय पर्सा र माथिल्लो तहका सुरक्षा निकायले तत्काल छानबिन गरी कडा कारबाही गर्नु अपरिहार्य देखिएको छ।