Modern technology gives us many things.

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

काठमाडौँ। भन्सारसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मंगलबार थुनछेक बहस सकेर उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरेको हो।

अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा महरा निर्दोष रहेको ठहर गर्न पर्याप्त कारण नभएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको जनाएको छ। अदालतको आदेश अनुसार महरालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार,“अदालतले प्रस्तुत प्रमाण र अभियोजनको गम्भीरताका आधारमा थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो। उहाँलाई आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको छ,”
श्रेष्ठले बताए।

भेपमार्फत सुन तस्करी प्रकरणसँग जोडिएको भन्सारसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार महराविरुद्ध मुद्दा दायर गरेको थियो। उनीमाथि दुईवटा फरक आपराधिक कसुर अन्तर्गत मुद्दा चलाइएको हो ।

दुई कसुरमा मिलाएर सरकारी वकिल कार्यालयले आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरेको छ।महराविरुद्धको अनुसन्धान करिब डेढ वर्षअघि सुरु भएको थियो। सो अवधिमा उनी हाजिरी जमानतमा रिहा भएर नियमित अदालतमा उपस्थित हुँदै आएका थिए। तर नयाँ सरकार गठनपछि प्रहरीले पुनः पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराएको थियो।

मंगलबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश क्षेत्रीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्।

महराको कानूनी टोलीले अदालतमा उनले कुनै पनि गैरकानुनी कारोबारमा प्रत्यक्ष संलग्नता नभएको, आफूविरुद्ध राजनीतिक मनोवृत्तिले प्रेरित मुद्दा दायर गरिएको दाबी गरेको थियो। तर, अदालतले तत्कालका प्रमाण र अभियोजनका विवरणलाई गम्भीर र औपचारिक जाँच योग्य ठहर गर्दै थुनामा पठाएको हो।

अदालतको आदेशपछि महराले माथिल्लो अदालतमा पुनरावेदन (appeal) गर्न पाउने व्यवस्था रहेको छ।
उनका वकिलका अनुसार, अदालतको आदेशको विरुद्धमा निवेदन दिने तयारी भइरहेको छ।

पूर्वसभामुख महरा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता हुन्।उनी यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका थिए।
२०७६ सालमा बलात्कार प्रयास आरोपको मुद्दा का कारण सभामुख पदबाट राजीनामा दिनुपरेको थियो। त्यस प्रकरणमा उनी पछि निर्दोष ठहर भएका थिए।

Leave A Reply

Your email address will not be published.