Modern technology gives us many things.

वीरगंजमा ‘राजा, राजसंस्था, सनातन हिन्दु अधिराज्य कायम गर’ भन्दै र्‍याली

वीरगंज , २१ मंसिर
राष्ट्रवादी संयुक्त मोर्चाका अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा आइतबार विभिन्न समूहका सहभागीहरूले ‘राजा आउ देश बचाउ, राजसंस्था कायम गर’, ‘सनातन हिन्दु अधिराज्य कायम गर’ जस्ता नारासहित ठूलो र्‍याली निकालेको थियो। र्‍यालीमा राजसंस्था समर्थक स्थानीय बासिन्दा,संगठनका सदस्य, धार्मिक समूह र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजकहरूले उक्त र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।
र्‍याली नगरको मुख्य घण्टाघरबाट सुरु भएर माईस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा पोखरी हुँदै माइथानमा आयोजित कोणसभामा परिणत भएको थियो। सहभागीहरूले हातमा राष्ट्रिय झण्डा, पूर्वराजा र रानीको तस्वीर, र राजसंस्थाको समर्थनमा लेखिएका प्ले–कार्ड बोकेका थिए।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रवादी संयुक्त मोर्चाका अध्यक्ष जनकलाल शाहले भने:
“यो देशलाई नेताहरूले मात्र चलाउन सक्दैनन्। किनभने राजा भएको समयमा नेपालमा रहेका सम्पूर्ण कलकारखाना र उद्योगहरूले युवाहरुलाई रोजगारी दिएका थिए। तर अहिलेका नेताहरूले ती उद्योगहरू बन्द गरिदिए, जसका कारण पढेका युवाहरू रोजगार नपाएर विदेशिन बाध्य छन्। नेताहरूले देशलाई प्रदेशमा विभाजन गरी आफ्नो व्यक्तिगत लाभका लागि प्रयोग गर्दैछन्। विकासको मार्गमा देशलाई अघि बढाउन सकिरहेका छैनन्। त्यसैले हाम्रो देशमा राजाको आवश्यकताछ।”
कोणसभामा वक्ताहरूले नेपालमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार, र सरकारप्रतिको अविश्वासलाई मुख्य कारण प्रस्तुत गर्दै राजसंस्थालाई विकल्पका रूपमा जनसामू राख्ने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए। उनीहरूले र्‍याली शान्तिपूर्ण जनचेतना अभियान मात्र भएको दाबी पनि गरे।
यस प्रकारको र्‍यालीले वीरगंज क्षेत्रमा राजनीतिक बहस र सामाजिक चेतनामा नयाँ आयाम थपेको छ। आगामी दिनमा यसका प्रभाव र प्रतिक्रियाले राष्ट्रिय राजनीतिमा पनि चर्चा बढाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
कार्यक्रममा पृथ्वी झा, संगिता देवी, शिवसंकर प्रसाद साह, प्रदिप पटेल, दिपेन्द्र रौनियार, रामनारायण साह, राजेश पटेल, वीरेन्द्र थापा, उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल, हरेराम रौनियार, सन्तोष गुप्ता, बिष्णु कुमार, राधाकृष्ण चौहान, प्रेम सरार्फ, बजरंगी साह, इदा मिया, परमेश्वर साह कानु, सुरेस साह, मदन ठाकुर, हरिन्दर राउत, नन्दकिशोर गोयल, बिरेन्द्र साह तेली, ज्ञानेन्द्र मण्डल, बनवारी चौधरी, धुरेन्दर पटेल, जहिर अंसारी, छठु साह कानु लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
Leave A Reply

Your email address will not be published.