मर्मतका कारण भारतले गण्डक नहरमा पानी रोकेपछि तीन जिल्लाका किसान प्रभावित
भारतले मर्मत–सम्भारको कारण देखाउँदै यस वर्ष गहुँ बालीको सिजनमा गण्डक नहरमा पानी नछोड्ने निर्णय गरेको छ। बिहारस्थित नहर शाखाले नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जलाई औपचारिक पत्रमार्फत पानी पठाउन नसकिने जानकारी गराएको हो।
भारतीय पक्षले नहर सफाइ तथा मर्मतका लागि ठेक्का सम्झौता भइसकेकाले हिउँदमा पानी आपूर्ति रोकिएको बताएको छ। गण्डक सम्झौता अनुसार पुस १५ गतेदेखि नेपालले सिँचाइका लागि ८५० क्युसेक पानी पाउनुपर्ने व्यवस्था छ। तर यस वर्ष सो मात्रा प्राप्त नहुने निश्चित बनेको छ।
पानी नआएपछि पर्सा, बारा र रौतहटका करिब २८ हजार हेक्टर जमिनमा सिंचाइ समस्याग्रस्त बन्ने देखिएको छ। यसले गहुँ, तोरी, दाल, आलु र उखु जस्ता हिउँदे बाली विशेष प्रभावित हुने अनुमान गरिएको छ।
फेटा गाउँपालिका–७ निवासी किसान प्रधुमान साहका अनुसार समयमै पानी नआएपछि खेती उत्पादनमा ठूलो गिरावट आउने र किसान आर्थिक संकटमा पर्ने जोखिम बढेको छ।