रौतहटमा ठेकेदारको लापरबाहीले ६० वर्षीय महिला गम्भीर घाइते, उपचारमा सहयोग नपाएको गुनासो
रूपेश यादव
राैतहट , १९ पाैष
रौतहट जिल्लामा ठेकेदारको गम्भीर लापरबाहीका कारण ६० वर्षीया वृद्धा गम्भीर रूपमा घाइते भई उपचार खर्च नपाएर अस्पतालमै अलपत्र परेकी छन्। गढीमाई नगरपालिका वडा नं.–८ बिरनगरा निवासी राजकिशोर पासवानकी आमा बिफिया देवी पासवान मंसिर १५ गते बजार जाँदै गर्दा दुर्घटनामा परेकी हुन्।
स्थानीय ठेकेदार श्याम नारायण पटेलले बाटोछेउमै कुनै पनि सुरक्षा मापदण्ड नअपनाई इलेक्ट्रिक ‘साउन्डलेस’ मेसिन प्रयोग गरी रुख काटिरहेका बेला उक्त रुख अचानक सडकतर्फ खस्दा बिफिया देवीको टाउकोमा गहिरो चोट लागेको र छातीको हड्डीसमेत भाँचिएको पीडित परिवारले जनाएको छ।
घटनापछि ठेकेदार पटेल र उनका भाइले घाइतेलाई उपचारका लागि बिरगञ्जस्थित सूर्य अस्पताल पुर्याए पनि उपचार खर्चमा कुनै सहयोग नगरी अलपत्र छोडेर फरार भएको पीडित परिवारको आरोप छ। हालसम्म उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भइसकेको भए पनि ठेकेदारले एक रुपैयाँसमेत नदिएको घाइतेका छोरा राजकिशोर पासवानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
पीडितको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि सूर्य अस्पतालले थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा रिफर गरिसकेको छ। तर सूर्य अस्पतालकै बाँकी उपचार खर्च तिर्न नसक्दा पीडित हालसम्म सोही अस्पतालमै रोकिएकी छन्। समयमै आवश्यक उपचार नपाउँदा बिरामीको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको परिवारको भनाइ छ।
Related Posts
घटनासम्बन्धी इलाका प्रहरी कार्यालय गरुडामा ठाडो निवेदन तथा जाहेरी दिँदा समेत मुद्दा दर्ता गर्न आनाकानी भइरहेको आरोप पीडित पक्षले लगाएको छ। पीडितका अनुसार ठेकेदार तथा गरुडा थानामा कार्यरत असई सुधीर यादवले उल्टै मुद्दा मिलाउन दबाब दिँदै पटक–पटक धम्की दिएको राजकिशोर पासवानले बताए।
पीडित परिवारका अनुसार ठेकेदार पटेलले आफू मधेस प्रदेशका मुख्यमन्त्रीको निकट व्यक्ति भएको दाबी गर्दै “मलाई कसैले केही गर्न सक्दैन, जहाँ जानु छ जाऊ” भन्दै निरन्तर डर र दबाब दिँदै आएका छन्। न्याय नपाएपछि बाध्य भएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक रूपमा आफ्नो पीडा राख्नुपरेको उनीहरूको भनाइ छ।
पीडित पक्षले यस घटनामा संलग्न ठेकेदार, दबाब दिने प्रहरी कर्मचारी तथा अन्य दोषीमाथि निष्पक्ष छानबिन गरी तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पीडितको सम्पूर्ण उपचार खर्च तुरुन्त व्यवस्था गरी जीवन रक्षा सुनिश्चित गर्न र कानूनभन्दा माथि कोही छैन भन्ने कुरा व्यवहारमै प्रमाणित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी आचार्यसँग सम्पर्क गर्दा उनले “ठेकेदारमाथि कुन विषयमा मुद्दा चलाउने भन्ने आफूले बुझ्न नसकेको” प्रतिक्रिया दिए। साथै, यस विषयमा सबैलाई जवाफ दिन आवश्यक नरहेको र आफूले बताउनुपर्ने व्यक्तिलाई जानकारी गराइसकेको भन्दै कुनै ठोस प्रतिक्रिया नदिई फोन काटेका थिए।