नापी कार्यालय बारामा सेवाग्राही हैरान,ढिलासुस्ती र ‘सेटिङ’ संस्कृतिले सरकारी सेवा नै व्यापारजस्तै
कलैया, १९ पौष
जिल्ला सदरमुकाम कलैयामा रहेको नापी कार्यालय बारा सेवाग्राहीका लागि सहजभन्दा पनि झन्झटको केन्द्र बन्दै गएको छ। नियमित प्रशासनिक सेवा लिन पुगेका सर्वसाधारणले कार्यालयभित्रको ढिलासुस्ती, अव्यवस्थित कार्यप्रणाली र अनौपचारिक लेनदेनका कारण पटक–पटक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
सेवाग्राहीहरूका अनुसार जग्गाको किताकाट, नक्सा सुधार, नक्सांकन र नापजोखजस्ता सामान्य सेवासमेत कार्यालय अगाडि बस्ने लेखनदास वा लेखापढी व्यवसायीमार्फत नगरेसम्म अघि नबढ्ने अवस्था छ। उनीहरूसँग आर्थिक ‘समझदारी’ नगरी फाइल चल्दैन भन्ने बुझाइ सेवाग्राहीबीच व्यापक रूपमा फैलिएको छ।
कार्यालय परिसरमै लेखनदासको नाममा फाइल दर्ता भएपछि मात्रै प्रक्रिया अघि बढ्ने प्रवृत्तिले नापी सेवामा संस्थागत विकृति गहिरिँदै गएको संकेत गर्छ। सेवाग्राहीहरू भन्छन्, “सरकारी शुल्क तिरेर कानुनी प्रक्रिया पूरा गर्दा पनि अतिरिक्त खर्च तिर्न बाध्य हुनु परेको छ।”
Related Posts
सेवाग्राहीका अनुसार कर्मचारीदेखि कार्यालय प्रमुखसम्म फाइल पुग्दा लेखनदासको संलग्नता देखिनु सामान्य जस्तै भइसकेको छ। प्रत्यक्ष कार्यालयमा निवेदन दिए एउटै काममा तीन–चार दिन लाग्ने, तर लेखापढी व्यवसायीमार्फत जाँदा सोही काम एकै दिनमा सम्पन्न हुने अवस्था देखिनु निष्पक्षतामाथि गम्भीर प्रश्न भएको उनीहरूको भनाइ छ।
त्यस्तै, फिल्डमा खटिने नापी कर्मचारीहरूले नक्सांकन तथा नापजोखका क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग्ने गरेको आरोप पनि बारम्बार उठ्दै आएको छ। यसले सरकारी सेवाप्रति आम नागरिकको विश्वास कमजोर बनाउँदै लगेको स्थानीयवासीहरूको गुनासो छ।
यस विषयमा नापी कार्यालय बारा प्रमुख सुबोध यादवसँग प्रतिक्रिया लिँदा उनले फिल्डमा खटिने केही कर्मचारीबारे गुनासो आएको स्वीकार गरे। सुधारका प्रयास भइरहेको बताउँदै उनले लेखनदासको नाममा फाइल दर्ता हुने विषयमा आफू अनविज्ञ रहेको र त्यसबारे छानबिन गर्ने बताए। सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र पारदर्शी सेवा प्रवाह गर्न कार्यालय प्रतिबद्ध रहेको उनको दाबी छ।
तर स्थानीय सेवाग्राहीहरूले कागजी प्रतिबद्धताले मात्र समस्या समाधान नहुने बताउँदै व्यवहारमै सुधार देखिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले नापी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायलाई तत्काल अनुगमन र कडाइका साथ सुधार गर्न गम्भीर ध्यानाकर्षण गराएका छन्।