Modern technology gives us many things.

कृषि मन्त्री श्याम पटेलद्वारा किसानका समस्या समाधानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता

वीरगन्ज — मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले आफ्नो कार्यकालभर किसानका समस्या समाधानका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री पटेलले संघीय कानुनका कारण प्रदेश तहमा केही बाधा–अड्चन भए पनि त्यसलाई चिर्दै किसानका समस्या समाधानमा निरन्तर लागिरहने बताए।

मधेस प्रदेशका किसानहरू अनेक समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री पटेलले ती समस्याको समाधान नै आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे। आफू स्वयं किसानकै छोरा भएको बताउँदै उनले किसानका पीडा र समस्याबारे भुक्तभोगी रहेको धारणा राखे।
“म आफैँ किसानको छोरा हुँ, त्यसैले किसानका पीडा र समस्या मलाई राम्ररी थाहा छ,” मन्त्री पटेलले भने।

मन्त्री पदको कार्यभार सम्हालेको पहिलो दिनमै मातहतका कर्मचारीहरूले दिएको ब्रिफिङ सुनेपछि मधेस प्रदेशका किसानको वास्तविक अवस्था अझ स्पष्ट रूपमा बुझ्न पाएको उनले जानकारी दिए। ती सबै समस्यालाई सम्बोधन गर्ने उद्देश्यले अध्ययन तथा तयारी अघि बढाइएको पनि उनले बताए।

मधेस प्रदेशलाई कृषि क्षेत्रमा नमुना प्रदेश बनाउने लक्ष्यसहित सरोकारवालासँग सुझाव लिने काम भइरहेको मन्त्री पटेलले बताए। साथै उनले किसान तथा व्यवसायीहरूलाई आफूलाई मन्त्री नभई भाइ सम्झेर खुलेर सल्लाह दिन आग्रह गरे।
“म मन्त्री होइन, तपाईंहरूको भाइ हुँ। भाइ सम्झेर खुलेर सल्लाह दिनुहोस्, प्रदेशको हितमा हुने सबै सल्लाह कार्यान्वयन गर्नेछु,” उनले भने।

उखु किसानको समस्याबारे पनि गुनासो आएको उल्लेख गर्दै मन्त्री पटेलले त्यसको समाधानका लागि मन्त्रालयस्तरमै छलफल अघि बढिसकेको जानकारी दिए।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनियुक्त कृषि मन्त्री श्याम पटेललाई संघको तर्फबाट सम्मान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.