पर्साबाट जसपा नेपालद्वारा उम्मेदवार सिफारिस : पर्सा–१ बाट राउत कि यादव ?
वीरगन्ज — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको जसपा नेपाल पर्सा कार्यकारी समिति बैठकले चारवटै निर्वाचन क्षेत्रबाट १२ जनाको नाम उम्मेदवारका रूपमा केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय समन्वय समितिबाट आएका नामहरू केन्द्रमा पठाइएको जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जानकारी दिए।
सिफारिसअनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको नाम सिफारिस गरिएको छ। यससँगै पर्सा–१ को टिकट कसले पाउने भन्ने विषयलाई लिएर राजनीतिक चासो बढेको छ।
यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएका सुरेन्द्र प्रसाद कुर्मी, उद्योगपति अशोक कुमार टेमानी, पूर्व वडाध्यक्ष सन्तोष तिवारी, वडाध्यक्ष आशुतोष चर्तुवेदी, कामेश पण्डित र वीरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको छ।
पर्सा क्षेत्र नम्बर ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरी तथा क्षेत्र नम्बर ४ बाट डा. कृपासिन्धु प्रसाद चौधरीको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला अध्यक्ष यादवले बताए। डा. चौधरी केही दिनअघि मात्र नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत थिए।
तर हालै अशोक राई नेतृत्वको जसपा परित्याग गरी जसपा नेपालमा फर्किएका पूर्वमन्त्री तथा पर्सा–१ का निवर्तमान सांसद प्रदीप यादवको नाम भने सिफारिस सूचीमा समावेश गरिएको छैन। यादव २०७४ र २०७९ को निर्वाचनमा पर्सा–१ बाट लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
यसैगरी हालै जसपा नेपालसँग पार्टी एकता गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कुनै पनि नेताको नामसमेत सिफारिसमा नपरेको उल्लेखनीय छ।
यस विषयमा जिल्ला अध्यक्ष यादवले हालै पार्टी प्रवेश गरेका नेता तथा एकता भएका दलका विषयमा केन्द्रिय कार्यसमितिबाट औपचारिक जानकारी वा सर्कुलर नआएकाले क्षेत्रीय समितिबाट पहिले नै सिफारिस भएका नाम मात्रै केन्द्रमा पठाइएको स्पष्ट पारे।
“केन्द्रबाट अहिलेसम्म आधिकारिक रूपमा कुनै सर्कुलर आएको छैन। यदि पछि सर्कुलर आयो भने सिफारिस सूचीमा फेरबदल हुन सक्छ,” उनले भने।
यता पूर्वमन्त्री प्रदीप यादवले भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग गरिएको पार्टी एकताको आधिकारिक परिपत्र जिल्लामा पुगेपछि अहिले सिफारिस भएका नामहरूमा व्यापक फेरबदल हुने दाबी गरेका छन्।