Modern technology gives us many things.

माटोबाट सर्ने रोग कृषिमा गम्भीर चुनौती, समयमै रोकथाम आवश्यक : कृषि प्राविधिक कुश्वाहा

कलैया, बारा :माटोबाट सर्ने रोगहरू कृषिका लागि लुकेका तर गम्भीर खतरा बनेको भन्दै समयमै रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ। फेटा गाउँपालिकाका कृषि प्राविधिक सञ्जय कुश्वाहाका अनुसार माटोमा बसोबास गर्ने रोगजनक जीवाणु, ढुसी तथा कीराहरूले बालीको जरा, डाँठ तथा माटोभित्रका भागमा आक्रमण गरी उत्पादनमा प्रत्यक्ष नकारात्मक असर पुर्‍याउने गरेका छन्।
कुश्वाहाले माटोको स्वास्थ्य जोगाउँदै वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न सके माटोबाट सर्ने रोगहरूको प्रभाव न्यूनिकरण गर्न सकिने बताए। “बाली चक्र परिवर्तन, जैविक मलको प्रयोग, रोग प्रतिरोधी जातको छनोट तथा उचित सिंचाइ व्यवस्थापन अपनाएमा यस्ता रोगको जोखिम घटाउन सकिन्छ,” उनले भने।
उनले किसानहरूलाई माटो परीक्षणलाई प्राथमिकतामा राख्न र कुनै पनि रोगको लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन आग्रह गरे। “समयमै रोगको पहिचान र रोकथामका उपाय अपनाएमा उत्पादन घट्ने जोखिम कम हुन्छ र दिगो कृषि उत्पादन सुनिश्चित गर्न सकिन्छ,” कुश्वाहाले स्पष्ट पारे।
कृषि प्राविधिक कुश्वाहाका अनुसार स्थानीय तहहरूले माटो स्वास्थ्य संरक्षणलाई दीर्घकालीन कृषि नीतिसँग जोड्दै किसानमैत्री तालिम, प्राविधिक सहयोग तथा सचेतना कार्यक्रमहरू विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यसले दीर्घकालमा कृषकको उत्पादन क्षमता वृद्धि हुनुका साथै सुरक्षित र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.