Modern technology gives us many things.

प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले भने पहिला नाका खुल्ला गर्नु पर्‍यो

काठमाडौँ — चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँग नेपाली पक्षले लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाका, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालगायत विषय उठाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएका भेटवार्तामा दुई मुलुकबीचका सरोकारबारे चर्चा गरिएको हो । भेट छुट्टाछुट्टै भए पनि नेताहरूले चिनियाँ पक्षसँग समान धारणा राखेका छन् । चीनले दु:ख दिने पनि हद भयो ; ६२ वर्षदेखि बन्द कोरला नाका ?

संसद् सचिवालय, परराष्ट्र मन्त्रालय तथा एमाले र माओवादीका नेताहरूका अनुसार नेपाली पक्षले जनकंग्रेस अध्यक्ष लीलाई नेपाल एक चीन नीतिमा निरन्तर प्रतिबद्ध रहेको बताएको थियो । बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन पनि आग्रह गरिएको थियो । सन् २०१७ मा बीआरआईको सदस्य मुलुक बनेको नेपालले त्यसबाट हालसम्म लाभ लिन सकेको छैन । नेपाली पक्षले कोभिड–१९ महामारीका बेला घर गएका चिनियाँ कामदारलाई फर्काउन पनि आग्रह गरेको छ । नेपाली नेताहरूले चिनियाँ सहयोग र लगानी बढाउन पनि चिनियाँ पक्षलाई आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीले नेपालले लिँदै आएको एक चीन नीतिप्रति प्रशंसा गर्दै अन्य मुलुकले नेपालमा गर्ने गतिविधिलाई लिएर सुरक्षा संवेदनशीलताको विषय उठाएका छन् । उनले नेपालले आफ्नो प्राथमिकता आफैं तय गर्नुपर्ने धारणा पनि राखेका छन् । बीआरआईको कार्यान्वयन सम्झौता गरेर कार्यान्वयनमा लान लीले नेपाललाई आग्रह गरेका छन् । चीनका विदेश मन्त्री वाङ यी गत चैतमा नेपाल भ्रमणमा आउँदा बीआरआई परियोजना अघि बढाउने विषयमा सम्झौता गर्न नेपाली पक्षलाई आग्रह गरिएको थियो । नेपालले सहुलियत ऋण र अनुदान मात्र स्वीकार गर्ने भनेपछि सम्झौता हुन सकेन ।  यो पनि समाचार – चीनको अघोषित नाकाबन्दी देखिन्न कम्युनिस्ट नेतालाई , खुलाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघको हारगुहार

अध्यक्ष लीले भूकम्प र कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाकालाई नियमित रूपमा सञ्चालन गर्ने जानकारी दिएका छन् । चीनले नाका सञ्चालनको प्रतिबद्धता पहिलेदेखि नै पटकपटक गर्दै आएको छ । नाका आंशिक सञ्चालन भए पनि नेपालबाट चीन प्रवेश ठप्प छ । चीनले नेपालसँगको हिल्सा, कोरला, किमाथांका र ओलाङचुङगोला खोल्ने संकेत पनि दिँदै आएको छ । तर नेपाली भूभागमा कमजोर पूर्वाधार भएको र त्यसले तिब्बतमा कोभिड–१९ फैलन सक्ने तथा सुरक्षामा पनि असर पर्ने आकलनमा चीनले नाका खुलाउन चाहेको छैन ।

राष्ट्रपति सीले तीन वर्षअघि नेपाल भ्रमण गर्दा उठेको आर्थिक र सामाजिक विकासका लागि रणनीतिक साझेदारीलाई जनकंग्रेस अध्यक्ष लीले पनि जोड दिएका छन् । उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँगको छुट्टाछुट्टै भेटवार्तामा ‘कम्युनिस्ट विचारधारा अँगालेका पार्टीहरूमा सद्भाव’ भन्दै कम्युनिस्ट एकतामा जोड दिएका थिए । नेपाली पक्षले लीमार्फत सीपीसीको अक्टोबरमा हुने २० औं राष्ट्रिय जनकंग्रेस सफलताको शुभकामना दिएको छ । चिनियाँ पक्षले भने नेपालमा मंसिर ४ मा हुन लागेको आम निर्वाचन सफलताको शुभकामना दिएको छ ।

प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्न अध्यक्ष ली मंगलबार करिब ४ बजे सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीको कार्यालयमा करिब ४५ मिनेट भएको भेटवार्ताका दौरान प्रधानमन्त्री देउवाले नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई अझै मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले चीनले नेपाललाई पहिलेदेखि गरेको सहयोगको प्रशंसा गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । जवाफमा लीले चीनका विषयमा नेपालले लिँदै आएको नीतिको प्रशंसा गरे । उनले चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

लीले मंगलबारको पहिलो भेटवार्ता राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग गरेका थिए । ली तिमिल्सिनालाई भेट्न बिहान करिब साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका थिए । भेटमा तिमिल्सिनाले अध्यक्ष लीलाई रसुवागढी र तातोपानी नाका दसैंअघि नै खुलाउन आग्रह गरेको तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए । जवाफमा अध्यक्ष लीले नाका छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले बीआरआईसँगै बहुपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिनुपर्ने बताएका थिए । एक चीन नीतिमा नेपालको प्रतिबद्धता उल्लेख गर्न छुटाएनन् । उनले कोभिड महामारीका बेला चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनालाई गति दिन आग्रह गरे । अध्यक्ष लीले आफू चीन फर्केपछि यस विषयमा पहल गर्ने जवाफ दिए । उनीहरूबीचमा करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।

अध्यक्ष तिमिल्सिनासँगको भेटपछि अध्यक्ष लीले संसद् भवनमै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । करिब ४५ मिनेटको भेटवार्ताका क्रममा ओलीले भनेका थिए, ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा विकास गरेका छौं, यसबाट अपेक्षित लाभ हासिल हुने आशा गरेका छौं ।’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले सीपीसीको २० औं जनकंग्रेस सफलताका लागि शुभकामना पनि दिए । लीले दुईपक्षीय भ्रमण आदानप्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ दिने बताए । उनले नेपालको आम निर्वाचन सफलताका लागि शुभकामना दिए ।

ओलीसँग भेटवार्ता सकेपछि लीले संसद् भवनमै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहाललाई भेटे । उक्त भेटवार्तामा दाहालले दुई मुलुकबीच बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखेर नेपालमा चीनले लगानी बढाइदिओस् भन्ने चाहेको बताए । दाहालले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई राष्ट्रपति सी चिनफिङको भ्रमणले थप उचाइमा पुर्‍याएको उल्लेख गरे । बीआरआईमार्फत दुई मुलुकले राणनीतिक साझेदारी गरेको पनि उनले बताएका थिए ।

‘नेपाल–चीनबीच रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनुपर्‍यो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भने । दाहालले उत्तरी नाका सञ्चालनको विषय पनि उठाएका थिए । नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणलाई तीव्रता दिन पनि पनि दाहालले आग्रह गरे । चिनियाँ जनकंग्रेस अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिमा सधैं सहयोग रहने वाचा गरे । लीले भनेका थिए, ‘हामी मार्क्सवादी हौं । विश्वमा हाम्रो एउटै भावनात्मक सम्बन्ध रहेको छ ।’

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि परराष्ट्रमन्त्री खड्का र जनकंग्रेस अध्यक्ष लीबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको थियो । खड्काले नाका सञ्चालनलगायत विषय उठाएका थिए ।

६७ जनाको टोली नेतृत्व गर्दै विशेष विमानसहित नेपालमा आएका लीले हरेक भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई साथमा राखेका थिए । ली काठमाडौंमा उत्रिएकै दिन सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता हुनुका साथै अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनी वसन्तपुर र भक्तपुर दरबार स्क्वायर घुम्ने कार्यक्रम पनि छ । ली बिहीबार बिहान फर्कनेछन् ।

नेपाली पक्षले उठाएका मुख्य ९ सवाल

  • संसदीय सहकार्य आदानप्रदान
  • उच्च तहको भ्रमणमा जोड
  • एक चीन नीतिमा निरन्तर प्रतिबद्ध
  • बीआरआईलाई अगाडि बढाउन आग्रह
  • रसुवागढी र तातोपानी नाका सञ्चालन गर्न आग्रह
  • कोभिड–१९ महामारीमा घर गएका चिनियाँ कामदारलाई फर्काउन आग्रह
  • चिनियाँ सहयोग वृद्धिमा जोड
  • चिनियाँ लगानी बढाउन जोड
  • सीपीसीको २० औं जनकंग्रेसलाई सफलताको शुभकामना

जनकंग्रेस अध्यक्ष लीका चासो र सवाल

  • नेपालको एक चीन नीतिको प्रशंसा
  • नेपालले प्राथमिकता आफैं तय गरोस्बी
  • आरआई कार्यान्वयन सम्झौता हुनुपर्छ
  • नाका खुलाउन पहलको आश्वासन
  • संसदीय सहकार्य र उच्च भ्रमणमा जोड
  • नेपालमा अन्य मुलुकले गर्ने गतिविधिलाई लिएर सुरक्षा संवेदनशीलतामा चासो
  • नेपालका कम्युनिस्ट पार्टीप्रति सद्भाव
  • रणनीतिक साझेदारीमार्फत आर्थिक र सामाजिक विकासमा जोड
  • नेपालमा मंसिर ४ मा हुने आम निर्वाचनलाई सफलताको शुभकामना                       – ईकान्तिपुर
Leave A Reply

Your email address will not be published.