विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका हाजिर हुन नदिने तयारी
विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहतालाई हाजिर हुन नदिने तयारी गरिएको छ ।
मेहताको सरुवालाई लिएर मेयरलगायतका जनप्रतिनिधि रुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो । मेयर नागेश कोइरालाले सल्लाह नगरी मन्त्रालयले मनखुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने बताए ।
मेहता यसअघि सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादमा तानिएको कोइरालाको भनाइ छ । पटक–पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई विराटनगर हाजिर हुन नदिने तयारी गरेका हुन् । मेहताले आफूसँग सहमतिसमेत नलिइ सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिने कोइरालाले बताए । मन्त्रालयले समेत प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक पनि समन्वयन नगरेको उनको गुनासो छ ।
आफूहरुलाई काम गर्ने कर्मचारी चाहिएको बताउँदै मेयर कोइरालाले ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाइएकाले चुप लागेर नबस्ने अडान लिए । विगत विवादित भएकाले मेहतालाई महानगर प्रवेशमा रोक लगाइने उनले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत पठाउँदा १ पटक हामीसँग त समन्वय गर्नु पर्छ नि । न मन्त्रालयले गर्यो । न त सचिवले नै,’ उनी भन्छन्, ‘मेयर र जनप्रतिनिधिसँग एक वचन पनि नसोध्ने ? अनि माथिबाट ‘सेटिङ’ गरेर पठाइदिएपछि हामीले स्वीकार्नु पर्ने ? हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक परेको छ ।’
विशेष गरेर मेहता इटहरीमा विवादित बनेकाले पनि विराटनगरमा स्वीकार गर्न गाह्रो परेको महानगरका कर्मचारीहरुको बुझाइ छ । १ कर्मचारी भन्छन्, ‘इटहरीमा हुँदा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले फेरि विराटनगरको प्रमुख प्रशासकीय बनाएर पठाउने काम भयो । मेयर र उपमेयरसहितका जनप्रतिनिधिले खुलेर विरोध गरिरहेका छन् ।’
जनप्रतिनिधिहरुले बरु अरुलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने माग गरेका छन् । तर, प्रमुख प्रशासकीय पठाउन लाग्दा १ पटक भएपनि सोध्नुपर्ने उनीहरुको भनाइ छ । ‘यो मान्छेलाई पठाउन लाग्यौं । काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नु पर्दैन ?,’ मेयर कोइराला भन्छन्, ‘काठमाडौंबाट जे गरे पनि हामीले ठीक भन्नुपर्ने ? त्यो कदापि हुँदैन ।’
मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए । मेहताले आफूलाई हाजिर हुन नदिने कुरा सुनेर आश्चर्य लागेको बताए । ‘किन उहाँहरुले त्यस्तो कुरा गर्नु भयो ? मैले बुझन् सकेको छैन,’ उनी भन्छन्, ‘सरुवा मसँग जोडिएको विषय हैन । संघीय सरकारले गरेको हो ।’
संघीय सरकारले दरबन्दी मिलान गरेकाले महानगरमा हाजिर हुन नदिने भन्ने कुरा नहुने मेहताको भनाइ छ । ‘म विराटनगरकै मान्छे हुँ । आफ्नै माटो र यहीँका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । म विराटनगर हाजिर हुँदा कसैलाई केही अप्ठेरो हुन्छ होलाजस्तो लाग्दैन,’ उनले भने ।