बिदेश खाडी देशहरूमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्छ’
जेष्ठ ३० काठमाण्डाै :सांसदहरूले खाडी देशमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आजको बैठकमा समितिका सदस्यहरूले राजनीतिक दलभित्रै पर्याप्त छलफल बाँकी रहेको बताएका हुन् ।
बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको देश संयुक्त अरब इमिरेट्स (यूएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले यूएईमा नेपाली घरेलु कामदारको भर्तीसम्बन्धी भएको पाइलट परियोजना अघि बढाउने स्वीकृतिका लागि समितिसँग आग्रह गर्नुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रतिबन्ध समाधान नभएको भन्दै घरेलु कामदारका लागि वैधानिक बाटो खुलाउन प्रस्ताव गर्नुभएको थियो ।