Modern technology gives us many things.

शून्य कर नीति सँगै मौलापुर नगरपालिकाको ३९ करोड ५० लाखको बजेट सार्वजनिक

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले मंगलबार ९ औँ नगर सभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरको छ । नगर प्रमुख रिनाकुमारी साहले आर्थिक वर्ष २०८२/०८३ ३९ करोड ५० लाखको प्रस्तुत नीति कार्यक्रम तथा बजेट गरेकी छन् ।

मौलापुर नगरपालिकाले हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ ।

शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ । गुणस्तरीय शिक्षा,साक्षरता अभियान,उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्याधिक बजेट खर्च गर्दै आएको छ ।

यस्तै मौलापुर नगरपालिकाले शुन्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ बर्षदेखी मौलापुरका मेयर रहेकी साहले यस बर्ष पनि शुन्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी,यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाएकी छन् ।

‘हामी शासक होईन,सेवक हौँ,जनतासंग लिने होईन दिने हो । नगर प्रहरी होईन,नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मौलापुरका मेयर साहले भनेकी छन् ।

यस्तै मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् । यो कार्यक्रम पनि उनी मेयर भएदेखी लागु भएको छ । यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दैआएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।

‘आगामी आ.व. २०८२/०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर,मौलापुर शहरीकरण,एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर,हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छन्, ‘वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थि तगर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको छ ।’

Leave A Reply

Your email address will not be published.