Modern technology gives us many things.

विचार हाई दादा, कोठा नं. ३१४

मैले केटाकेटीमा “भीक्टोरिया २०३” भन्ने हिन्दी सिनेमा हेरेको थिएँ। बड़ा गज्जबको जासुसी, रहस्यमयी फिल्म थियो त्यो। अहिले रहस्यमयी चलखेल करिब एक हप्ता दस दिन अगाडि सुनसान समय मिलाएर होटल पुजनको कमरा नं. ३१४ मा भएको छ।

सुन्दा पत्यार नलाग्ने त्यो कोठा नं. ३१४ मा वर्तमान वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र निवर्तमान मेयर विजय सरावगीबीच गोप्य भेटघाट भयो। कानो–कान खबर नहुने गरी भएको ‘भरतमिलाप’ को खबर यो पंक्तिकारसम्म आइपुग्यो। प्रदीप यादवको दाहिने हात मानिने राजेशमान र पर्सा एमालेका सर्वेसर्वा विजय सरावगीबीच यो खसमखास भेटघाटको उद्देश्य राजनीतिक रहेछ। विचरा प्रदीप यादवलाई समेत यो कोठे रहस्यमयी भेटघाटको कुनै भनक छैन। यो भेटघाटको सोच बदनियतपूर्ण थियो र एमालेको मिशन ८४ सँग सम्बन्धित थियो। अचेल केही समय यता राजेशमान प्रदीप यादवसँग टाढिएको तथा एमाले अध्यक्ष ओलीसित नजिकिएको चर्चा काबिल–ए–तारीफ छ।

सबैलाई थाहै छ, सरावगी पर्सा एमालेका कथित हाइ–प्रोफाइल नेता हुन्। बन्द कोठामा भएको त्यो रहस्यमयी छलफलको तारतम्य आगामी स्थानीय निर्वाचन तथा २०८४ को सांसद, विधायक, निर्वाचन र उम्मेदवारबीच छलफल भएछ। आरोप छ कि भित्रीरूपमा राजेशमान प्रदीप यादवसँग दूरी बनाउँदै एमालेसित लहसिन थालेका छन्। “उठ जोगी फटकार छाला, जता जाला त्यतै खाला” प्रकृतिका मान्छे हुन् राजेशमान।

जसपा नेपाल टुक्राएर अशोक राईको पार्टीमा जुडुवा भाइझैँ प्रवेश गरेका प्रदीप यादव र राजेशमान एकअर्कालाई तहेदिलले विश्वास गर्दैनन्। अनि अशोक राई पनि भविष्यमा विश्वासघात हुनसक्छ भनेर शंसकित रहने गरेको बुझिएको छ। उता अहिले पर्सा एमालेमा हालिमुहाली चलाएका विजय सरावगी एमाले हेडक्वार्टरका समेत विश्वासपात्र हुन्। हेडक्वार्टरको आदेश र राजेशमानको राजनीतिक हैसियतका जानकार विजय सरावगी ललिपप देखाउँदै पुजन होटलको कमरा नम्बर ३१४ मा पुगेका हुन्।

सबैलाई थाहा छ, होटल पुजन राजेशमानको फेभरिट होटल हो। जहाँ हुने गुफ्तगु, षड्यन्त्र र दलबदलको खेल, छलफल, खर्चापानी आदि बाहिरी दुनियाँले थाहा पाउँदैन। राजेशमानको वर्तमान बौँस प्रदीप यादव र अशोक राईले थाहा नपाए पनि यसको भनक म जस्ता अदना नगरवासीसम्म पुगेको छ। सबैलाई थाहा छ, वीरगञ्ज महानगरका मेयर राजेशमान ‘के गर्छस् मंगले आफ्नै ढंगले’ स्तरमा विभिन्न कारणले बदनाम छन्। उनको राजनीतिक दामनमा समेत दाग लागिसकेको छ। आफ्नो दाग मेटाउने ‘वासिङ मेशिन’का रूपमा उनी एमाले नै देख्छन्। कुनै बखत एकअर्कालाई देख्न नचाहने मान सिंह र सरावगी आ–आफ्नै राजनीतिक प्यास मेटाउन लहसिएका छन्। यिनको त्रियाचरित्र र दिशाहीन सोचले यिनको राजनीतिक भविष्य ‘आकाशको फल आँखै तरि मर’ सावित हुने पक्का–पक्की भए पनि यी दुबै एकअर्काका लागि ‘डुब्तेको तिनका सहारा’को अवस्थामै छन्। ‘ऐसा चोरी करता हूँ, अल्लाह नहीं जानता है’। लेकिन अब त्यो जमाना रहेन।

भीक्टोरिया २०३ को चरित्र अभिनेता प्राण र अशोक कुमारको जोडीको चर्चा अझै हुने गर्दछ। बिचरा विजय सरावगी, राजेशमानलाई दोस्तीको महत्व के थाहा? बाटो बिराएर यिनीहरू अल्लारीएर बौरिएर हिँडेका हिँडदै । गन्तव्य पुग्न भन्दा धेरै टाढा छ। एउटा महत्वपूर्ण र संघर्षपूर्ण घटना के हो भने उपेन्द्र यादवसँग ठूलो संघर्ष गरी प्रदीप यादव र लालबाबु राउतले राजेशमानलाई मेयर पदको टिकट दिलाए। आज उनै लालबाबुलाई राजेशमान ‘तारक मेहताका उल्टा चश्मा’ले हेर्छन्। अब कसले मान सिंहको ग्यारेन्टी गर्छ?

हाई दादा, सरावगीले? बाफ रे बाफ! ठेकेदार हरिनारायण रैनियार, जालिम मियाँ, विजय सरावगीको तीकडीले अब राजेशमानलाई एमालेको खोरमा छिराउने रे। यी चारै जनाको जमात राजनीतिमा, खासगरी पर्साको हकमा ‘म्याद गुज्रिएको औषधि’ जस्तै हो।

राजेशमान र सरावगीको मेल गोरा र कालोको क्षणिक मिलन जस्तै हो। अँध्यारो वेलामा भएको भेटले हेरौं के गुल खिलाउँछ। सरावगी र राजेशमान पर्साका टुटपुन्जिया नेता हुन्। टुटपुन्जिया को अर्थ मैले बताउनु नपर्ला। स्मरणीय छ, एमाले पार्टी कब्जा गर्न प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच रस्सी तानातान चलिरहेको छ।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

Leave A Reply

Your email address will not be published.