Modern technology gives us many things.

बारामा लागुऔषधको ठूलो ‘खेप’: २१२ किलो गाँजासहित चार जना पक्राउ, सक्रिय सञ्जालको खुलासा

१४ असार,बारा । मकवानपुरबाट बारातर्फ आउँदै गरेको एक पिकअप गाडीबाट २१२ किलोभन्दा बढी लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा गरिएको विशेष चेकजाँचका क्रममा धानको भुसभित्र लुकाएर राखिएको २१२ किलो ९२८ ग्राम गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा गाडी चालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय रवि कार्की, सोही नगरपालिका वडा नम्बर १२ का ४३ वर्षीय वीरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका १४ बस्ने २३ वर्षीय साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय महेश तामाङ रहेका छन्। उनीहरू सबै पिकअप गाडीमा सवार थिए।

बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यस किसिमको ठूलो परिमाणको लागुऔषध बरामद हुनुले यस क्षेत्रमा लागुऔषध ओसारपसारको सञ्जाल सक्रिय रहेको संकेत गर्दछ।

Leave A Reply

Your email address will not be published.