सबैभन्दा धेरै धान रोपाइँ सुदुरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत भएको छ भने सबैभन्दा कम मधेसमा १३.६ प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी, कोसीमा २९.५ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको छ। अन्नको भण्डारण मानिने तराईमा पर्ने मधेस प्रदेशमा पोहोरको तुलनामा करिब आधा मात्र रोपाइँ भएको छ। बर्सेनि धान रोपाइँको क्षेत्रफल पनि घट्दै गएको छ।
यो वर्ष अमेरिकाबाट करिब २१ करोड १५ लाख रूपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी फिलिपिन्स, थाइल्याड, जापान, इन्डोनेसिया, इटाली, बेलायत, अमेरिका, नाम्बियालगायतका मुलुकबाट पनि चामल आयात भएको छ।
उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार, सिँचाइको उपलब्धता सहज हुनु आवश्यक छ। अहिले पनि धान खेती परम्परागत, निर्वाहमुखी रहेको छ। गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको विज्ञ बताउँछन्।
अहिले प्रतिहेक्टर करिब ४.२ मेट्रिक टन धान उत्पादन भइरहेको छ। सरकारले उत्पादन बढाउन धान खेती विस्तारलाई प्राथमिकतामा राखेको छ। आव २०८२/८३ मा तराईका २२ जिल्लामा चैते धानको उत्पादन बढाउन ३३ करोड रूपैयाँ लगानी गरी चामलमा आत्मनिर्भर हुने कार्यक्रम ल्याइएको छ। १२ लाख टन धान उत्पादन वृद्धि गर्ने लक्ष्य छ। अहिले एक लाख १० हजार हेक्टरमा चैते धान खेती हुँदै आएकोमा दुई लाख हेक्टर पुर्याउने लक्ष्य छ।