Modern technology gives us many things.

मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता : खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

जनकपुरधाम :मधेश प्रदेशमा बढ्दो खानेपानी संकट समाधानका लागि प्रदेश र संघीय सरकारबीच संयुक्त अभियान सञ्चालन गर्ने सहमति भएको छ । जनकपुरधाममा आज भएको एक उच्चस्तरीय बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी, सरसफाइ तथा सिँचाइ मन्त्री प्रदीप यादवबीच यस्तो सहमति भएको हो ।

बैठकमा मधेश प्रदेशमा दीर्घकालीन समाधानको आवश्यकता रहेको खानेपानी संकट अन्त्य गर्न संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गरिने निर्णय गरिएको छ ।

संघीय र प्रदेश सरकार दुवैले उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्न ससर्त योजनाहरूको तत्काल कार्यान्वयन थालिने जनाएको छ । दुवै सरकारबीच जनताको आवश्यकता र अपेक्षाअनुसार सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिनेछ ।

भेटवार्तामा जनताले भोगिरहेको समस्या समाधानका लागि दुवै तहका सरकार सँगसँगै उभिएको अनुभूति हुने गरी काम गर्न सरोकारवाला मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताएका छन् ।

भेटमा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित दुवै तहका विज्ञ तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सरकारका अनुसार खानेपानी संकट समाधानका लागि संघीय–प्रदेश समन्वयमा प्रारम्भ गरिने यो अभियानलाई दिगो विकास र जनसेवामा सकारात्मक मोडको रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.