नारायणी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको पहिलो सेवा बिन्दु हटाइयो
वीरगंजस्थित नारायणी अस्पतालले अबदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा बिन्दु को रुपमा सेवा नदिने भएको छ।
अस्पताल प्रशासनद्वारा जारी सूचनामा स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार २०८२ साउन १ गतेदेखि नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएको उल्लेख गरिएको छ।
अबदेखि बिमित सेवाग्राहीहरूले नारायणी अस्पतालबाट सेवा लिनु अघि स्वास्थ्य बीमा बोर्डद्वारा तोकिएको प्रथम सेवा बिन्दु संस्थाबाट रेफर (सिफारिस) अनिवार्य रूपमा ल्याउनुपर्नेछ। रेफर बिना आउने बिमितले अस्पतालमा बीमाको सुविधा पाउने छैनन्।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, “स्वास्थ्य बीमा बोर्डसँग समन्वय गर्दै पुनः नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुमा समावेश गराउने प्रयास भइरहेको छ।”
बिमित सेवाग्राहीहरूलाई अस्पताल प्रशासनले यस परिवर्तनबारे जानकारी गराउँदै सेवा लिनुअघि आवश्यक रेफर लिएर मात्र आउन आग्रह गरेको छ।