कलैया, बारा साउन ५:जनमत पार्टीले आइतबार बाराको कलैया स्थित करण राज पार्टी प्यालेसमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा बारा क्षेत्र नं. ३ का पूर्व संविधानसभा सदस्य तथा जसपाका वरिष्ठ नेता प्रमोद प्रसाद गुप्ता र क्षेत्र नं. ३ (ख) का पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साहसहित सयौं नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले फूलमाला र अबिर लगाई स्वागत गरे।

कार्यक्रममा बोल्दै नेताहरूले अब जनमत पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढाउने दृढता व्यक्त गरे। प्रवेश गर्ने नेताहरूमा पूर्व वडाध्यक्ष, स्थानीय राजनीतिकर्मी, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पूर्व सांसद गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह दुवैजना जसपाबाट निर्वाचित भएका थिए र बाराको राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका थिए। उनीहरूको जनमत पार्टी प्रवेशसँगै बारा क्षेत्र नं. ३ मा जसपाको संगठनात्मक धरातल कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ।

कार्यक्रममा जनमत पार्टीका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूले जनमत पार्टी जनताको भावना, आशा र परिवर्तनको आकांक्षासँग जोडिएको पार्टी भएकाले अब यसलाई अझ बलियो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए।
सहभागीहरूले जनमत पार्टीको नीति, कार्यक्रम र विचारप्रति आस्था व्यक्त गर्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने संकल्प गरेका छन्।

यो कार्यक्रममा देखिएको जनसहभागिता र नेताहरूको प्रवेशले बारामा जनमत पार्टीको प्रभाव उल्लेखनीय रूपमा बढेको स्पष्ट संकेत दिएको छ। साथै, यस घटनाले मधेसको राजनीतिमा नयाँ समीकरण निर्माणको संकेत पनि दिएको विश्लेषण गरिएको छ।
