Modern technology gives us many things.

सर्लाहीको मलङ्गवा अस्पतालमा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द

सर्लाही, साउन ७ :सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको घटनापछि अस्पतालको ओपिडी सेवा ठप्प भएको छ। सोमबार राति भएको घटनापछि मंगलबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिव सिंहका अनुसार हड्डी भाँचिएर उपचारका लागि आएका बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर बिरामीका आफन्तले अर्थोपेडिक चिकित्सक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए। उक्त घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।

चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधस्वरूप अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका हुन्। सेवा अवरुद्ध हुँदा उपचारका लागि अस्पतालमा आउने सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्।

यता, नेपाल चिकित्सक सङ्घले पनि प्रेस विज्ञप्ति जारी गर्दै डा. साहमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। चिकित्सक सङ्घले यस्तो घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाउनुपर्नेमा जोड दिएको छ।

स्थानीय प्रशासनले घटनाको छानबिन भइरहेको जनाएको छ भने दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.