Modern technology gives us many things.

निर्मलबस्ती खानेपानी आयोजना उद्घाटनमा करिब १ हजार घरधुरी लाभान्वित

पर्साको ठोरी गाउँपालिका–४ स्थित निर्मलबस्तीमा करिब १ हजार घरधुरी लाभान्वित हुनेगरी निर्माण सम्पन्न भएको निर्मलबस्ती खानेपानी आयोजना शुक्रबार एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ।

संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा मन्त्री यादवले आयोजनाबाट बग्ने धाराको पानी आफैँ पिएर सेवा शुभारम्भ गरेका थिए। ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार उक्त आयोजना अन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस तथा पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) निर्माण गरिएको छ।

उद्घाटनपश्चात आयोजित स्वागत तथा सम्मान समारोहमा मन्त्री यादवले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका निर्मलबस्तीबासीका लागि यो आयोजना एक महत्वपूर्ण उपलब्धि बनेको बताए। उनका अनुसार आयोजनाबाट २ हजार १६५ जना नागरिक लाभान्वित हुनेछन्।

उनले कार्यक्रममा भने, “सरकार गाउँगाउँसम्म स्वच्छ पानी पुर्‍याउन कटिबद्ध छ। विकासको आधार संरचना नै खानेपानी हो, र यो आयोजना त्यसतर्फको एक महत्वपूर्ण पाइला हो।” उनले तराई–मधेशका जिल्लाहरू हाल गम्भीर जलसंकटको सामना गरिरहेको उल्लेख गर्दै नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित पानी सुनिश्चित गर्न सरकार अहोरात्र खटिरहेको स्पष्ट पारे।

मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी पनि मन्त्री यादवले कार्यक्रममा दिएका थिए।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, निर्मलबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरू, साथै विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.