Modern technology gives us many things.

प्रधानमन्त्री ओलीको घोषणा मधेशमा पाँच सय डीप बोरिङ जडान गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको समस्या समाधानका लागि तत्काल पाँच सय वटा डीप बोरिङ जडान गरिने घोषणा गरेका छन्।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिँचाइ र खानेपानीको चरम अभाव झेलिरहेको मधेश प्रदेशमा तत्कालै समाधानका उपायहरू लागू गरिने जानकारी दिए।

प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकन गर्दा धेरै जमिन सुक्खा देखिएको भन्दै आठ वटै जिल्लामा सिँचाइ तथा खानेपानीको समस्या समाधान गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरी छिटोभन्दा छिटो काम अघि बढाइने बताए।

उनले पूर्वी मधेशको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँको अवस्था तुलनात्मक रूपमा सहज भए पनि बाँकी सात वटै जिल्लामा पानीको गम्भीर संकट रहेको उल्लेख गरे।

मधेश प्रदेशलाई पहिले नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले किसान र प्रभावित समुदायलाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.