टर्कीको बुर्सासम्म फैलिएको डढेलो: सयौं विस्थापित, देशको चौथो ठुलो सहर संकटमा
उत्तरपश्चिम टर्कीको बुर्सा वरपर फैलिएको डढेलोले आइतबार बिहान देशको चौथो ठूलो सहरलाई नै संकटमा पारिदिएको छ। जंगली पहाडहरूमा रातभर फैलिएको भीषण आगलागीले बुर्साका पूर्वी उपनगरहरूमा आकाश रातो बनाएको थियो।
बुर्साका गभर्नर कार्यालयका अनुसार, आगलागी प्रभावित क्षेत्रका एक हजार सात सय ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। एक हजार एक सयभन्दा बढी दमकलकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन्। राजधानी अंकारासँग बुर्सालाई जोड्ने मुख्य राजमार्ग पनि वरपरका जंगलहरू जलेपछि बन्द गरिएको छ।
डढेलोको दृश्यलाई प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले “प्रलय” को संज्ञा दिएका छन्। बिहानसम्म हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो भने नियन्त्रण प्रयास अझै जारी छ। टर्कीका टेलिभिजन च्यानलहरूले डढेलोले खरानीमय भू-दृश्य बनाएको जनाएका छन्, जहाँ पहिले हरियाली सल्लाका जंगल र खेतहरू थिए।
वन मन्त्री इब्राहिम यमुक्लीका अनुसार टर्कीमा जुन महिनाको अन्त्यदेखि दैनिक दर्जनौं डढेलो देखिएका छन्। शनिबार मात्रै देशभरका अग्नि नियन्त्रकहरूले ७६ स्थानमा आगो निभाउने प्रयास गरेका थिए।
डढेलोको मुख्य कारण अत्यधिक तापक्रम, लामो खडेरी र कडा हावा रहेको बताइएको छ। शुक्रबार टर्कीको सिरनाक प्रान्तमा अहिलेसम्मकै उच्च तापक्रम ५०.०५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। यो जुलाई महिनामा १३२ स्थानमा नयाँ तापमान रेकर्ड भएको पनि जनाइएको छ।
सरकारले डढेलोबाट प्रभावित इजमिर र बिलेसिक प्रान्तलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। न्यायमन्त्री यिलमाज टुन्कका अनुसार, जुन २६ यता ३३ प्रान्तमा भएको आगलागीका घटनामाथि अनुसन्धान भइरहेको छ भने ९७ जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।
यसबीच, पश्चिमी टर्कीको एस्किसेहिरमा भएको डढेलोमा बुधबार १३ जनाको ज्यान गएको छ, जसमा १० जना उद्धारकर्मी र वनकर्मी छन्।
टर्की हाल जलवायु परिवर्तनजन्य संकटको गम्भीर मारमा परेको स्पष्ट देखिएको छ। मौसमविद्हरूले अझै केही हप्ता उच्च जोखिम कायम रहने चेतावनी दिएका छन्।