Modern technology gives us many things.

गाजामा कुपोषणको स्तर चिन्ताजनक : डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा क्षेत्रमा कुपोषणको अवस्था अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको चेतावनी दिएको छ। पछिल्ला दिनहरूमा केही राहत सामग्री गाजामा प्रवेश गरे पनि त्यसले ठूलो मानवीय संकट समाधान गर्न नसक्ने डब्लुएचओको भनाइ छ।

डब्लुएचओका अनुसार युद्धग्रस्त गाजामा पुनः राहत सामग्रीको वितरण सुरु भए पनि खाद्य अभाव, असुरक्षा, र स्वास्थ्य सेवाको चरम संकटले स्थानीय बासिन्दा कुपोषणको उच्च जोखिममा परेका छन्।

इजरायली सेनाले केही क्षेत्रहरूमा दैनिक १० घण्टाको युद्धविराम गर्ने घोषणा गरेपछि जोर्डन र संयुक्त अरब इमिरेट्सले २५ टन राहत सामग्री हवाई मार्गमार्फत गाजामा पठाएका छन्। साथै, इजिप्ट र जोर्डनबाट राहत सामग्री बोकेका थुप्रै ट्रकहरू पनि गाजा प्रवेश गरेका छन्।

तर, राहत मार्ग नजिकै इजरायली गोलीबारीमा कम्तीमा ९ जनाको मृत्यु र ५४ जना घाइते भएको बताइएको छ। यहीबीच, नत्जारिम कोरिडोर क्षेत्रमा राहतका लागि पर्खिरहेका सर्वसाधारणमाथि गोली प्रहार भएको छ। इजरायली सेनाले भने शंकास्पद समूह नजिक आएपछि चेतावनी स्वरूप गोली चलाएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघ र अन्य सहायता संस्थाहरूले गाजामा राहत आपूर्ति सीमित हुनुका कारण मानवीय अराजकता चर्किने खतरा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघले इजरायलमाथि राहत संकलनमा अनेक अवरोध खडा गरेको आरोप पनि लगाएको छ।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने युद्धको लक्ष्य प्राप्त नभएसम्म लडाइँ जारी रहने बताएका छन्। उनले सुरक्षित मार्ग पहिले पनि उपलब्ध रहेको तर अब औपचारिक रूपमा सञ्चालनमा आएको उल्लेख गरेका छन्।

युद्ध र नाकाबन्दीका कारण गाजाको स्वास्थ्य, खाद्य, र सरसफाइ अवस्थाले गम्भीर रूप लिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायबाट राहतको माग तीव्र बन्दै गएको छ।एजेन्सी

Leave A Reply

Your email address will not be published.