एक वर्षदेखि अमेरिका बसेका वडाध्यक्षको खातामा लाखौं भत्ता, कार्यवाहकले दुई पटक जिम्मेवारी छोड्ने आग्रह
कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल झण्डै एक वर्षदेखि अमेरिका बसेका छन् । श्रीमतीलाई डिभी परेपछि ०८१ साल असार महिनामा दाहाल अमेरिका प्रस्थान गरेका थिए । उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई कार्यवाहकको जिम्मेवारी दिँदै अमेरिका गएका थिए । तर, एक साताका लागि काठमाडौँ जाने भनिए पनि उनी हालसम्म फर्किएका छैनन् ।
दाहालको अनुपस्थितिमा पनि गाउँपालिकाले उनको नाममा सेवा सुविधा उपलब्ध गराएको पाइएको छ । प्राप्त विवरणअनुसार, साउनदेखि मङ्सिर महिनासम्मको अवधिमा गाउँपालिकाले उनका लागि कर कट्टी गरी विभिन्न शीर्षकमा जम्मा १ लाख ३३ हजार ६५० रुपैयाँ बैंक खातामा पठाएको हो ।
उक्त अवधिमा दाहालले यातायात सुविधा शीर्षकमा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेटका लागि १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार शीर्षकमा ३० हजार, अनुगमन खर्च ३० हजार, समन्वय तथा सहजीकरणमा १२ हजार ५ सय र चाडपर्वका लागि थप २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङका अनुसार, दाहाल ०८१ सालको असार महिनाको गाउँ सभामा सहभागी भएका थिए । तर, पुसको गाउँ सभामा अनुपस्थित भएपछि त्यसपछिका सेवा सुविधा रोकिएको उनले बताए । ‘पुसपछि उहाँ नआएपछि पालिकाले भत्ता रोक्यो,’ अध्यक्ष गुरुङले भने ।
दाहालले अमेरिका जानुपरेको कारण परिवारको उपचार भएको उल्लेख गर्दै पालिकामा पत्र पठाएका थिए । पत्रमा उनले कार्तिकको दोस्रो साता नेपाल फर्किने उल्लेख गरेका थिए । ‘उहाँले फर्किने बताएका मितिमा नफर्केपछि अब कारबाहीको सिफारिस गर्ने तयारी गरेका छौँ,’ गुरुङले भने ।
वडाध्यक्ष दाहाल माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । अध्यक्ष गुरुङका अनुसार, यो विषयमा पार्टीलाई समेत जानकारी दिइएको छ ।
हाल वडाध्यक्षको जिम्मेवारी कार्यवाहक लक्ष्मी गिरीले सम्हालिरहेकी छन् । गिरीका अनुसार, सुरुमा दाहालले आफूलाई एक साताका लागि मात्रै कार्यवाहक बनाएका थिए । तर, उनी दुई दिनमै अमेरिका पुगेको खबर आएको उनले बताइन् ।
‘उहाँले चाँडै फर्किनुहुन्छ भनेपछि मैले काम सम्हालेकी हुँ,’ गिरीले भनिन्, ‘तर एक वर्षसम्म पनि नआएपछि दुई पटक पालिकामा जिम्मेवारी छोड्ने निवेदन दिएँ ।’
तर, गाउँपालिकाले अन्य विकल्प नभएको भन्दै जिम्मेवारी नछोड्न आग्रह गरेपछि गिरी हालसम्म कार्यवाहककै भूमिकामा रहिएकी छन् ।