Modern technology gives us many things.

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले राजनीतिमा फर्कन नहुने : नेता डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरूले सक्रिय राजनीतिमा फर्किन नहुने स्पष्ट पारेका छन्। बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान संविधानमा यस विषयमा स्पष्ट व्यवस्था नभएकाले संविधान संशोधन आवश्यक रहेको धारणा राखे।

“संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिले राजनीतिमा फर्कन नपाउने भनेर उल्लेख नगरेको कमजोरी हो। यो विषय संविधान संशोधनमार्फत समाधान गर्नुपर्छ,” उनले भने।

डा. कोइरालाले वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनलाई प्राथमिकतामा राखे पनि कार्यान्वयनको पक्षमा कमजोर देखिएको टिप्पणी गरे। “सरकारले यस विषयलाई प्राथमिकतामा राखेको देखिए पनि अहिलेसम्म संविधान संशोधनका लागि कुनै कार्यदल गठन भएको छैन,” उनले गुनासो गरे।

सरकार परिवर्तनका चर्चाबारे सोधिएको प्रश्नमा उनले आफू त्यस खेलमा संलग्न नरहेको स्पष्ट पारे। “सरकार परिवर्तनको खेलमा म लागेको छैन। मुलुकका समस्याको समाधान खोज्न म अन्य दलका नेताहरूसँग भेटघाटमा छु, तर सरकार परिवर्तनका लागि कुनै छलफल भएको छैन,” कोइरालाको भनाइ थियो।

त्यस्तै, पार्टीको संसदीय दलको नेता परिवर्तनसम्बन्धी चर्चा पनि उनले अस्वीकार गरे। “संसदीय दलको नेता परिवर्तन गर्न पर्याप्त संख्या आवश्यक पर्छ, जुन हाल हाम्रो पक्षमा छैन,” उनले भने।

Leave A Reply

Your email address will not be published.