कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने तयारी
साउन १६ काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। शैक्षिक क्यालेन्डरअनुसार नतिजा साउन १५ गतेभित्र प्रकाशित भइसक्नुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण परीक्षा तोकिएको मितिमा हुन नसक्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार हाल नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ। “परीक्षा ढिलागरी भएकाले नतिजा पनि केही दिन ढिला भएको हो,” शर्माले बताए, “हामी साउन २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा छौं।”
नियमित, ग्रेडवृद्धि तथा आंशिक गरी देशभरबाट कूल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए। बोर्डले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, डेटा इन्ट्री र गुणाङ्क पुष्टि जस्ता कार्यहरू धमाधम गरिरहेको जनाएको छ। नतिजा प्रकाशित भएपछि बोर्डको वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत हेर्न सकिनेछ।