नेपालमा स्तरोन्नत चामल तथा आपूर्ति शृङ्खला सुधार परियोजना सुरु
काठमाडौं, साउन १८ :भारत सरकारको सहयोगमा नेपालमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना औपचारिक रूपमा सुरु गरिएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यो परियोजना शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो।
भारतीय विदेश मन्त्रालयले भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत परियोजना सञ्चालन गरेको हो। सन् २०२३ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको ७८औं सत्रका अवसरमा भारतले उक्त पहल घोषणा गरेको थियो। घोषणा पश्चात भारत र संयुक्त राष्ट्रसंघको टोलीले चार परियोजना छनोट गरेका थिए, जसमा नेपालको यो योजना पनि समावेश छ।
परियोजनाको उद्देश्य नेपालमा स्तरोन्नत चामलको आपूर्ति शृङ्खला सुधार गर्नु रहेको छ। खरिद प्रक्रिया, तथ्यांक संकलन, दक्ष जनशक्ति अभाव र प्रणालीगत कमजोरी समाधान गर्न भारतको सफल सार्वजनिक वितरण प्रणालीबाट सिकाइ लिने योजना रहेको छ।
परियोजनामा लाभार्थी व्यवस्थापन, भण्डारण तथा वितरण मोडेल, अनुगमन तथा मूल्याङ्कन प्रणाली, र गुनासो निवारण संयन्त्रमा ध्यान दिइनेछ। भारतको अनुभव र डिजिटल प्रविधिको प्रयोगमार्फत नेपाललाई सशक्त बनाउने लक्ष्य राखिएको छ।
भारतीय राजदूतावासका अनुसार परियोजना तीन चरणमा १२ महिनाको अवधिमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नता सुनिश्चित गरिनेछ। दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र नेपाली अधिकारीहरूको भारत भ्रमण गराइनेछ भने तेस्रो चरणमा सिकाइका आधारमा दीर्घकालीन कार्ययोजना निर्माण गरिनेछ।
परियोजनाको प्रशिक्षण पक्ष भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (ITEC) अन्तर्गत सञ्चालन गरिनेछ। सन् २००१ यता ३,००० भन्दा बढी नेपाली अधिकारीले आइटेकमार्फत तालिम प्राप्त गरिसकेका छन्।
भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा परियोजनाले भारत–नेपाल विकास साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। साथै यसले दक्षिण-दक्षिण सहकार्यको माध्यमबाट नवप्रवर्तनहरू साझा गर्दै दिगो खाद्य प्रणाली निर्माणमा सहयोग पुर्याउने उल्लेख गरिएको छ।