Modern technology gives us many things.

साउदी अरबमा एकैदिन आठ जनालाई मृत्युदण्ड, लागुऔषधसम्बन्धी अभियोगमा सजायको दर तीव्र

साउदी अरबले शनिबार एकैदिन आठ जनालाई मृत्युदण्ड दिएको छ। तीमध्ये सात जना विदेशी नागरिक रहेको र एक जना साउदी नागरिक भएको साउदी सरकारी समाचार संस्था एसपीए ले जनाएको छ। मृत्युदण्ड पाउनेमा चार सोमालियाली, तीन इथियोपियाली तथा एक जना साउदी नागरिक छन्।

चार सोमालियाली र तीन इथियोपियालीलाई दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको’ आरोपमा मृत्युदण्ड दिइएको हो। साउदी नागरिकले भने आफ्नी आमाको हत्या गरेको अभियोगमा मृत्युदण्ड पाएका हुन्।

फ्रान्सेली समाचार संस्था एएफपी का अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म साउदी अरबमा २३० जनालाई मृत्युदण्ड दिइसकिएको छ। तीमध्ये १५४ जनालाई लागुऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको हो। यो दरलाई हेर्दा सन् २०२४ को ३३८ जनाको मृत्युदण्ड रेकर्डसमेत तोडिन सक्ने अनुमान गरिएको छ।

विश्लेषकहरूले सन् २०२३ देखि सुरु भएको ‘लागुऔषधविरुद्धको युद्ध’ अभियानलाई यस वृद्धिसँग जोडेका छन्। साउदी सरकारले पहिलो पटक पक्राउ परेकाहरूलाई पनि कानुनी प्रक्रिया पुरा भएपछि मृत्युदण्ड दिने गरेको बताइएको छ।

साउदी अरबले सन् २०२२ को अन्त्यमा लागुऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड स्थगन गर्ने नीति लिएको थियो। तर, एएफपी को तथ्याङ्क अनुसार स्थगन हटेपछि सन् २०२२ मा १९ जना, २०२३ मा २ जना र २०२४ मा ११७ जनालाई लागुऔषधका मुद्दामा मृत्युदण्ड दिइएको छ।

मानवअधिकारकर्मीहरूले भने मृत्युदण्डको निरन्तर प्रयोगले युवराज मोहम्मद बिन सलमानको भिजन २०३० अन्तर्गतको खुला र सहिष्णु समाज निर्माण गर्ने प्रयासलाई गम्भीर चुनौती दिएको बताएका छन्।

तर साउदी अधिकारीहरूले भने मृत्युदण्ड सार्वजनिक सुव्यवस्था कायम राख्न आवश्यक रहेको र अपिलका सबै अवसरहरू समाप्त भएपछि मात्र यो सजाय लागू गरिने तर्क दिएका छन्।

Leave A Reply

Your email address will not be published.