Modern technology gives us many things.

आज वर्षा तीव्र हुनसक्ने, जनतालाई सतर्क रहन अनुरोध

काठमाडौं  साउन १९ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, तराई क्षेत्र नजिक रहँदा आगामी केही दिन देशभर विशेषगरी मधेश प्रदेशमा मनसुन झनै सक्रिय हुने प्रक्षेपण गरिएको छ।

महाशाखाका अनुसार सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।

दिउँसोको मौसम पूर्वानुमानअनुसार देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश तराई भूभागमा तथा केही पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। त्यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

बागमती प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन अझ सक्रिय हुने भएकाले सतर्क रहन तथा पछिल्लो मौसमी अपडेटबारे जानकारी लिन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

 

Leave A Reply

Your email address will not be published.