Modern technology gives us many things.

क्वालालम्पुरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन सम्पन्न, १७ सदस्यीय नयाँ कार्य समिति चयन

क्वालालम्पुर, मलेसिया : नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। पदम राज लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।

नवगठित समितिको अध्यक्षमा पदम राज लिम्बु चयन भएका छन् भने बरिष्ठ उपाध्यक्षमा ङावाङ नुरी शेर्पा, उपाध्यक्षमा बिक्रम वाइबा र किसन गुरुङ, महिला उपाध्यक्षमा बिनु राई चयन भएका छन्। त्यस्तै महासचिवमा सन्जिब स्याङ्बो तामाङ, सचिवमा यज्ञ कुमार राई, कोषाध्यक्षमा अनिता थापा मगर, सह–कोषाध्यक्षमा मिङ्मा शेर्पा रहेका छन्। सदस्यहरूमा पेमा स्याङ्तान, निर बहादुर थामी, पल थामी, काँशी तमु, प्रकाश चौधरी, हमान सिं मगर, दावा शेर्पा र सागर लिम्बु रहेका छन्।

कार्यक्रमको सभाध्यक्ष निवर्तमान अध्यक्ष बिपिन राई रहेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल सरकारका कोशी प्रदेश प्रमुख माननीय पर्शुराम खापुङले सहभागिता जनाएका थिए। विशिष्ट अतिथिमा मलेसियास्थित नेपाली राजदूत महामहिम डा. नेत्र प्रसाद तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख युवराज जिरेल लगायत मलेसियामा क्रियाशील विभिन्न जातीय संघसंस्था, राजनीतिक दलका भातृ संगठन तथा क्षेत्रीय संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष युवराज जिरेलले संगठनको नीति–नियम बुझ्न आग्रह गर्दै आपसी भाइचाराको सम्बन्धलाई बलियो बनाउन कुनै पनि जातीय विभेदका क्रियाकलाप नगर्न अनुरोध गरे। राजदूत तिमिल्सिनाले संघ–संस्थाहरूको सक्रियताका कारण दूतावासको काम सहज भएको उल्लेख गर्दै महासंघले पनि नेपाली श्रमिकको हितमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै धन्यवाद व्यक्त गरे।

प्रमुख अतिथि खापुङले मलेसियामा नेपाली समुदायद्वारा सञ्चालित संघ–संस्थाहरूको सक्रियताले नेपाल–मलेसिया सम्बन्ध बलियो बनाउन सहयोग पुगिरहेको धारणा राखे।

सांस्कृतिक कार्यक्रमतर्फ नेपालबाट आमन्त्रित कलाकार सागर आले मगर र सुनिता लिम्बुका साथै स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर दर्शकको मन जिते। कार्यक्रमको अवसरमा समाजसेवी बालध्वज लिम्बु, पत्रकार घनश्याम चौधरी र कलाकार राजेश चौधरीलाई सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष सुन्दर आले मगरलाई पनि महासंघमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

निवर्तमान अध्यक्ष बिपिन राईले आफ्नो दुई कार्यकालको अनुभव सुनाउँदै विभिन्न चुनौतीका बाबजुद कार्यकाल सफल भएको महसुस भएको बताए। साथै, नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिए।

सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका पदम राज लिम्बुले आगामी दिनमा महासंघलाई अझ गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै जातीय संघसंस्थासँग सहकार्यमा अघि बढ्ने उद्घोष गरेका थिए।

Leave A Reply

Your email address will not be published.