Modern technology gives us many things.

भारत भ्रमणबाट फर्किएपछि सांसद खानको स्पष्ट सन्देश: सम्बन्ध सुधार व्यवहारमा देखियोस्

काठमाडौं :  प्रतिनिधि सभाका १४ जना सांसद सम्मिलित अध्ययन भ्रमण टोली १० दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ । टोली साउन १० गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएर भारतको नयाँ दिल्ली र गुजरात राज्यको विभिन्न राजनीतिक, औद्योगिक तथा धार्मिक केन्द्रहरूको अवलोकनपछि साउन २० गते फर्किएको हो ।

भ्रमणको पहिलो चरणमा टोलीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल ‘राजघाट’मा श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय, नेपाली राजदूतावास, र ऐतिहासिक अक्षरधाम मन्दिरको अवलोकन गर्‍यो ।

दोस्रो दिन टोलीले नयाँ दिल्लीस्थित भारतीय कृषि अनुसन्धान परिषद् (ICAR) अन्तर्गतका विभिन्न प्रयोगशाला तथा अनुसन्धान केन्द्रहरूको भ्रमण गर्‍यो । साथै, विवेकानन्द अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा भारतीय वरिष्ठ कूटनीतिज्ञहरूसँग नेपालको राजनीतिक परिस्थिति, द्विपक्षीय समझौता कार्यान्वयन, सीमावर्ती नाका खोल्ने र सीधा हवाई उडान सुरु गर्ने लगायतका विषयमा विचारविमर्श भएको थियो ।

भाजपा मुख्यालयमा वरिष्ठ नेताहरू विजय चौथाइवाले, शिव प्रकाश र संजय जैसवालसँग संगठन व्यवस्थापनबारे छलफल गरिएको थियो। त्यस्तै, भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) का पदाधिकारीहरूसँग नेपाल-भारत व्यापार, निकासी-प्रवेश लगायतका आर्थिक विषयमा अन्तरक्रिया भएको थियो ।

तेस्रो दिन टोलीले भारतीय लोकसभा तथा राज्यसभाको कार्यप्रणालीको अवलोकन गर्नुका साथै जलशक्ति मन्त्रालयअन्तर्गतको ‘स्वच्छ भारत मिसन’ र ‘जल जीवन मिशन’बारे जानकारी लिएको थियो । कृषि तथा किसान कल्याण मन्त्रालय, नीति आयोग र अन्य निकायहरूसँग नेपालको कृषि सुधार र नीति निर्माणमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

चौथो दिन विदेश मन्त्रालय अन्तर्गतको समितिमा सचिव विक्रम मिश्रीसँग छलफल गर्दै टोलीले नेपालमा भारतीय सहयोगप्रति आभार व्यक्त गर्दै विगतका समझौताहरू कार्यान्वयन गर्न आग्रह गरेको थियो । सचिव मिश्रीले नेपालको प्राथमिकताअनुसार शिक्षा, स्वास्थ्य, ऊर्जा र खेलकुदजस्ता क्षेत्रहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पाँचौँ दिन टोली गुजरात राज्य पुगेर विधानसभाको अवलोकन तथा सभामुख र सांसदहरूसँग छलफलमा सहभागी भयो ।

टोलीले मुख्यमन्त्री भूपेन्द्र पटेलसँग विकास मोडेल, मेक इन इन्डिया र डिजिटाइजेसनबारे अनुभव साटासाट गरेको थियो। Gujarat Industrial Development Corporation (GIDC) सँग औद्योगिक विस्तार र वातावरण संरक्षणबारे बैठक भएको थियो । छैटौं दिन टोलीले खेडा जिल्लामा अवस्थित विश्व प्रसिद्ध दुग्ध सहकारी संस्था Amul को भ्रमण गर्दै यसको सहकारी संरचना र उत्पादकत्वबारे जानकारी लिएको थियो । टोलीले सरदार वल्लभभाई पटेलको १८२ मिटर अग्लो ‘Statue of Unity’ को समेत अवलोकन गरेको थियो ।

सातौं र आठौं दिन टोलीले स्थलमार्गबाट सोमनाथ, नागेश्वर धाम र द्वारकाधीश धामजस्ता हिन्दू धर्मका महत्वपूर्ण तीर्थस्थलहरूको भ्रमण गर्दै धार्मिक तथा सांस्कृतिक अध्ययन गरेको थियो । भ्रमणको अन्तिम दिन अहमदाबादबाट दिल्ली हुँदै काठमाडौं फर्किएको टोलीले भ्रमणमा भारतीय सरकारले दिएको व्यवस्थापन, सुरक्षाका साथै वैचारिक आदानप्रदानमा देखाएको सक्रियताप्रति आभार व्यक्त गरेको छ । टोलीले भारत सरकारसँग द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भ्रमणको मूल्यांकन गर्दै सांसद अब्दुल खानले भने, यो भ्रमण निकै फलदायी रह्यो । दिल्लीमा आयोजित छलफलमा मैले बर्दिया लगायतका सीमावर्ती नाकाहरू खोल्नुपर्ने, नेपालगञ्ज–दिल्ली सीधा हवाई उडान सुरु गर्नुपर्ने, १९५० को सन्धिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने र दुबै देशबीच पानीको विषयमा साझा दृष्टिकोण बनाउनुपर्ने धारणा राखें । भारतका कूटनीतिक, नीतिगत र प्राविधिक संरचनाहरू नजिकबाट अवलोकन गर्दा नेपालले पनि यस्ता अभ्यासहरूबाट सिक्न सक्ने धेरै कुरा छन् ।

Leave A Reply

Your email address will not be published.