Modern technology gives us many things.

चुरे विनाशको चिन्ता

डा. नागेन्द्रप्रसाद यादव

चुरे सबैभन्दा दक्षिणी भूभागमा रहेको पहाड हो जसमा नदीले बनाएका केही खोंचहरूका साथै दुन उपत्यका अथवा भित्री मधेससमेत पर्छन् । चुरे पहाड मुख्यतया बलौटे ढुंगा, माटेढुंगाले बनेका हुन्छन् । यी चट्टानहरू पूरै खँदिलो भइनसकेको हुनाले छिट्टै क्षयीकरण हुने अवस्थाका छन् । तराईका जिल्लाहरूमा सबैभन्दा उत्तरतिरको पहाड चुरे त्यसमुनि भावर र त्यसपछि समथर भूभाग मधेस भए पनि यी एउटै भूपरिधि हो । तर यसमध्ये चुरे सबैभन्दा बढी संवेदनशील र महत्त्वपूर्ण छ किनभने चुरे पानीको स्रोत भएकोले तराईको जीवनरेखा हो । चुरेको भूबनोट र संवेदनशीलताको आधारमा पूर्वी चुरे क्षेत्र त्यसमा पनि सुनसरीदेखि रौतहटसम्मको चुरे कमजोर र बढी संवेदनशील छ । त्यसमा पनि सप्तरी सिरहा र धनुषाको चुरे कमजोर छ ।

मधेसमा सुक्खापन र खडेरी बढ्दै गएपछि खानेपानीलगायत सिँचाइको लागि पानीको हाहाकार भएर सरोकारवालाहरूको चिन्ता र चासो बढेको छ । तर यही कुरा हामी १५ वर्षदेखि भनिरहेका छौ । दाङ जिल्लाको चुरेमा पानी पुनर्भरण तथा जलाशयबारे कार्यमूलक अध्ययन गर्दा नतिजा राम्रै देखिएको थियो । अहिले सबैले मधेसमा भएको सुक्खा खडेरीको प्रमुख कारणमा चुरे विनाशले भएको भन्ने गर्छन् । के चुरेको विनाश र दोहन यही एक दुई वर्षमा भएको हो ? चुरे विनाश र दोहन भनेको के हो ? चुरेमा भएको वन पैदावार, ढुंगा गिट्टी र बालुवा मुख्य प्राकृतिक स्रोत हुन र यी स्रोतको नियम विपरीत संकलन नै दोहन हो । भू—स्वामित्वको हिसाबले यो सरकार र निजी व्यक्तिमा रहेका छन् ।

चुरे पानीको स्रोत भएकोले तराईको जीवनरेखा हो । यसको क्षयीकरण प्राकृतिक कारण र मानवीय गतिविधिले भइरहेको छ ।

२०५१ सालअघि मधेसका परम्परागत वन उपभोक्ता उत्तरतिर चुरेसम्मको वन प्रयोग गर्ने गर्थे । तर २०५१ सालपछि स्थानीय समुदायलाई सामुदायिक वन हस्तान्तरण गरेपछि दक्षिणतिरको मधेसको जनता वन उपभोग गर्नबाट वञ्चित भए र वनप्रति उनीहरूको चासो घट्दै गए । निजी वनबाहेक राष्ट्रिय वनको व्यवस्थापनको जिम्मा डिभिजन वन कार्यालय र सामुदायिक तथा साझेदारी वन समूहको हो । एकथरी मानिसहरूले पहिलाको भन्दा २०५१ सालपछि चुरेमा सामुदायिक वन बनेपछि चुरे जोगिएको छ, संरक्षण भएको छ भन्ने गर्दछ किनभने चुरेमा अधिकांश सामुदायिक वन नै छन् ।

यदि चुरे विनाश भएको छ भने के, के, कति, कहाँ, कहाँ विनाश वा दोहन भएको छ ? चुरेमा भएको स्रोतहरू सरकार र वन समूह जिम्मामा छन् र यसको अनुगमन गर्ने जिम्मा सरकारी निकायको हो । भावर र चुरे क्षेत्रको लेखाजोखा स्थानीय र प्रदेश सरकारसँग यकिन हुनुपर्ने हो तर छैन जसले गर्दा यी स्रोतहरूको अतिक्रमण र दोहन भइरहेको छ । तराईको वन व्यवस्थापन भइरहेको छैन र ढुंगागिट्टी कसैको निजी फ्याक्ट्रीमा उत्पादन हँुदैन । यसको मुख्य स्रोत भनेको चुरै नै हो । प्रदेशको वन क्षेत्रबाट निस्कने प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारको हो ।

यी प्राकृतिक स्रोतको संरक्षण र उपयोग गर्न जिम्मा लिएका निकाय र संस्थाहरूले आआफ्नो कर्तव्य र जिम्मेवारी वहन गरेका

छन् ? यसको नियमन र अनुगमन गर्ने निकायले जिम्मेवारी पूरा गरे त ? यसका दोषी को को हुन् ? यी स्रोतको क्षयीकरण र

विनाशको असर टाढा रहेका तल्लो तटीय क्षेत्रमा बस्ने मानिसले किन भोग्ने ? हिजोसम्म राजमार्ग उत्तर रहेका प्राकृतिक स्रोतबारे चासो न राख्ने नेताजीहरू र जनता सबैले अहिलेको मार खेपिरहेका छन् । आखिर यी स्रोतको सरोकारवाला हामीहरू पनि रहेछांै भन्ने बोध त भयो । हामीले यही कुरा २०५१ सालदेखि नै भनिरहेका छौं जुन नीति निर्माता, नेता र नियमनकर्ताले बुझेन । गत तीन दशकमा चुरे कति विनाश भए यसको लेखाजोखा स्थानीय, प्रदेश र संघीय सरकारसँग छ ? चुरेको क्षयीकरण प्राकृतिक कारण र मानवीय गतिविधिले हुने गर्दछ । यसमध्ये मानवीय गतिविधिले हुने चुरे क्षयीकरणलाई न्यून वा व्यवस्थापन गर्न सकिन्छ ।

चुरेमा अनावश्यक भौतिक पूर्वाधार, सडक, बाटो आदि निर्माणका लागि जथाभावी पहाड खन्न बन्द गर्नुपर्छ। तराई मधेसमा पानी पुनर्भरणका लागि चुरे र चुरेको फेदमा जलाशय निर्माण गर्नु जरुरी छ।

चुरेमा कुन स्रोत कहाँ के कति र यसको क्षयीकरणबारे थाहा भयो भन्ने मात्र संरक्षण तथा व्यवस्थापन गर्न सकिन्छ जुन सरकारसँग रहेको देखिँदैन । अहिले चुरे दोहनको नाममा अधिकांश भावर क्षेत्रबाट गिट्टी र बालुवाको अनियमित रूपमा संकलन गरी रहेको क्षेत्रको भूस्वामित्व यकिन छैन । तर प्रदेश सरकार, प्रशासन र स्थानीय सरकारले चाहेमा सजिलै यसको यकिन गरी नियमन गर्न सकिन्छ । यी निकायले नचाहनु र नियमन नगर्नु भनेको भ्रष्टाचारलाई बढावा दिनु हो ।

खास गरेर मधेस प्रदेशमा चुरे कहाँ कति छ ? बारे अन्योल छ । यसको स्रोतमाथि को को, के कति निर्भर छन् यसबारे प्रदेश सरकार अवगत भए मात्र व्यवस्थापन गर्न सकिन्छ । वनलगायत कृषि मन्त्रालय प्रदेश सरकारको मातहतमा छ र चुरेको अधिकांश क्षेत्र यी दुई मन्त्रालयअन्तर्गत पर्छ भने चुरे क्षेत्रको उचित संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व पनि यिनै मन्त्रालय हुन् । तर, राजमार्ग उत्तरतिरको जग्गाको भू स्वामित्त्व वन मन्त्रालयको रहे पनि यकिन छैन जसले गर्दा पनि अतिक्रमण भई यो क्षेत्र व्यवस्थित छैन । अहिले देशका विभिन्न तहतप्काका मानिसले चुरे संरक्षण गर्नुपर्छ भन्ने गरेका छन् तर चुरे संरक्षणका लागि क कस्ले के के गरे र अव के के गर्ने ? चुरेमा कति वृक्षरोपण गरे ? र यसको अवस्था कस्तो छ ? वन पैदावारको चाप चुरेमा न दिन चुरेमुनि समथर भूभागको कति वन क्षेत्र दिगो रूपमा व्यवस्थापन गरी तल्लो तटीय क्षेत्रको जनताको वन पैदावारको आपूर्ति गरे ? के प्रदेश सरकारको आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र वार्षिक कार्यक्रम बजेटमा चुरे संरक्षण तथा वन व्यवस्थापनले प्राथमिकता पाएको छ ? आर्थिक वर्ष २०७८÷०७९ मा मधेस प्रदेशको चुरे संरक्षणको प्राथमिकता र बजेट हेर्दा पोखरी सौन्दर्यीकरण २३ करोड रुपैयाँ, ऐतिहासिक धार्मिक स्रोत संरक्षण १५ करोड रुपैयाँ, निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण १६ करोड, चुरे संरक्षणमा रु. ६ करोड १६ लाख मात्र । यी सबैका १० दशमलव २४ प्रतिशत बजेट विनियोजन भएको रहेछ । चुरे संरक्षण तथा व्यवस्थापनमा लगानी खै ? चुरे संरक्षणको खाली भाषण, नारा र नीतिमा चुरे जोगाऊ र मधेस बचाऊ भनेर त पाकशास्त्र रटेर भोक मेटाउने जस्तै हो ।

अर्को विडम्बना मधेस प्रदेशको चुरेमा उत्तर दक्षिण सडक निर्माणमा डोजर आतंकले चुरे विनाश भइरहेको छ । भावर क्षेत्रमा निजी जग्गाबाट अनियमित रूपले गिट्टी बालुवा संकलनमा तीव्रता दिएको छ । सप्तरीबाट गाईघाट जाने दुईवटा पिच रोड हुँदाहुँदै रूपनीबाट गाईघाट जाने बाटो बनाउन करिब ४० वर्ष भयो तर अहिलेसम्म आधा पनि खन्न भ्याएको छैन । गत आर्थिक वर्षमा अर्को मधेस प्रदेशकै मन्त्रीजीले कल्याणपुरबाट गाईघाट सडकको शिलान्यास गर्नु भएको छ । यसैगरी गोलबजारबाट मध्यपहाडी जोड्ने सडक बनाइरहेको छ ।

यी सडक बन्ने बाटोमा गाउँघर नै छैन भने नेताजीहरूले विकासको नाममा कस्को लागि सडक बनाइरहेका छन् ? के यसरी चुरेलाई छियाछिया पारी खन्दा चुरे संरक्षण हुन्छ ? यो नै चुरे विनाशको एउटा कारण हो । चुरेबाट निस्कने नदीहरूमा यतिको गेग्र्यान कहाँबाट आयो कतिपय गाउँ नदीको सतहभन्दा तल भइसकेको छ जसले गर्दा गाउँ कटान र डुबान हुन्छ यसको समाधान कस्ले कसरी गर्ने ? के राजमार्ग दक्षिण विकास गर्ने ठाउँ छैन ? पैसा कमाउने र कार्यकर्ता पाल्ने नै उद्देश्य हो भने चुरेबाहेकको क्षेत्रमा विकास खाए हुन्छ । जसले गर्दा कमसेकम तराई मरुभूमीकरण हुनबाट त बच्छ । यसबारे मधेस सरकार किन मूकदर्शक भएको छ ?

अहिले संघीय सरकारले हेलिकप्टर अवलोकन गरेर मधेस प्रदेशमा पाँच सयवटा डिप बोरिङ गाड्ने संघीय सरकारको घोषणा भई धमाधम बोरिङ गाड्न थालेका छन् । तर सरकारकै एक अध्ययनअनुसार विगतमा गाडिएका अधिकांश बोरिङ असफल भएका छन् । दिनप्रतिदिन बोरिङ थपिँदै गएर कम गहिराइको बोरिङ कम पानी दिने गरेको छ भने कतिपय सुकिसकेको अवस्था छ । तसर्थ अब गाडिने बोरिङ सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त ठाउँमा गाड्नुपर्छ नत्र यसले थप विपत् निम्त्याउने छ । जलवायुजन्य विपद्सँग सामना गर्न अनुकूलन योजना बनाई कार्यान्वयन गर्दै जानुपर्छ ।

अहिले खडेरीको समस्या समाधान गर्न अल्पकालीन कार्यक्रमअन्तर्गत गाउँगाउँमा खानेपानीको लागि रहेका पुरानो इनारको मर्मत गरी पुनः सञ्चालन गर्नुपर्छ । सुक्खा समयको लागि पानी भण्डारण गरी राख्नुपर्छ । पानी खपत कम र सदुपयोग गर्नुपर्छ । एउटै लेयरबाट पानी तान्ने उपकरण कम जडान गर्नुपर्छ । कम पानी चाहिने बालीको खेती गर्नुपर्छ । सुक्खा खडेरीको समस्या समाधान गर्न दीर्घकालीन कार्यक्रम पनि गर्न सकिन्छ । यसका लागि चुरे संरक्षण तथा व्यवस्थापन गर्ने गुरुयोजनामा चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने परिकल्पना गरेको छ सो अनुरूप चुरेमा काम गर्नुपर्छ । नदी प्रणालीको योजनाअनुसार वन संरक्षण, अतिक्रमण नियन्त्रण, बस्ती र नदीजन्य पदार्थको व्यवस्थापनको साथै चुरेबाट माटो (सिल्ट) कम बग्ने उपायहरू समेट्नुपर्छ ।

चुरेमा प्राकृतिक स्रोत (वन, भू र जल) संरक्षण तथा व्यवस्थापन गर्नु जरुरी छ । चुरेमा रहेको प्राकृतिक वनको संरक्षणको साथै खाली ठाउँमा अम्रिसो र बाँसको साथै नदीकिनार बगरमा बृहत् रूपमा बेतको वृक्षरोपण गर्न सकिन्छ । प्रदेश सरकारले चुरेमा वन अतिक्रमण नियन्त्रण तथा बस्ती व्यवस्थापन गर्नु जरुरी छ । चुरेमा अनावश्यक भौतिक पूर्वाधार, सडक, बाटो आदि निर्माणमा जथाभावी पहाड खन्न बन्द गर्नुपर्छ । तराई मधेसमा पानी पुनर्भरणका लागि चुरे र चुरेको फेदमा जलाशय निर्माण गर्नु जरुरी छ । चुरे क्षेत्रवाट नदीजन्य पदार्थ संकलन नगर्ने, चुरे क्षेत्रमा पहिले निर्माण भएका ड्याम र जलाशयहरू मर्मत र माथिल्लो तटमा चेकड्याम निर्माण गरी पुनः सिँचाइ सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

चुरेबाट निस्कने नदीमा चुरेको फेदमा बाँध बाँधी नयाँ जलाशय निर्माण तथा जलाशयको माथिल्लो तटमा चेक ड्यामहरू बनाउनु पर्छ । भावर, मधेसको नदीबाट स्थानीय तह तथा प्रदेश स्तरमा स्वीकृत ईआईएअनुसार चुरे क्षेत्रबाट चेनेलिङ हुने गरी नदीजन्य पदार्थ संकलन तथा तटबन्दमा हरित पेटी बनाउनु आवश्यक छ । भू जलको सम्भाव्यताको आधारमा उपयुक्त ठाउँमा बोरिङ गाड्ने तथा व्यवस्थापनको संरचना निर्माण गर्ने र सतही सिँचाइको लागि चुरेबाट निस्कने नदीहरूमा जल सञ्चय गर्नुपर्छ । चन्द्र नहर, कमला र बागमती नदीमा बनेका जलाशयको क्षमता अभिवृद्धि गर्ने र कोशीको पानी चन्द्रनहर, कमला र बागमतीमा डाइभर्सन गर्नुपर्ने आवश्यकता छ ।

(यादव, वन तथा चुरेविज्ञ हुन् ।)

Leave A Reply

Your email address will not be published.