रौतहटमा मेयरमाथि ढुंगामुडा आक्रमण, अवस्था गम्भीर
रौतहट, साउन ३१ : रौतहटको देवाहीगोनाही नगरपालिका प्रमुख (मेयर) प्रेमलाल साहमाथि शनिबार साँझ आक्रमण भएको छ। कृष्ण जन्माष्टमीका अवसरमा वडा नं. ९ धरहरिमा आयोजित मेला उद्घाटन गर्न पुगेका मेयर साहमाथि ढुंगामुडासहित इटा प्रहार गरिएको हो।
गत वर्ष निर्मित कृष्ण मन्दिरको परिसरमा मेला आयोजना गरिएको थियो। मेला समितिको आतिथ्य स्वीकार गर्दै मञ्चतर्फ जाँदै गर्दा भीडमा होहल्ला शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। होहल्लाकै बीचमा उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लन खोज्दा मेयर साहमाथि अन्धाधुन्ध ढुंगा र इटा प्रहार गरिएको थियो।
आक्रमणमा स्थानीय राम प्रवेश साह नेतृत्वको समूह संलग्न रहेको प्रत्यक्षदर्शीको दाबी छ। घटनामा दुई जना वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव र धन सुन्दर ठाकुरसहित दुई सर्वसाधारण पनि घाइते भएका छन्। उनीहरूको गरुडा स्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा उपचार भइरहेको छ।
आक्रमणबाट मेयर साहको टाउकामा गम्भीर चोट लागी १६ वटा टाँका लगाउनुपरेको बताइएको छ। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ।
इलाका प्रहरी कार्यालय गरुडाले आक्रमणमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
