Modern technology gives us many things.

पत्रकारमाथि आक्रमण: वकिललाई कारबाहीको मागसहित सिडियो अफिसमा पत्रकारहरूको धर्ना

जनकपुरधाम, भदौ १ : जनकपुरधाममा वकिलद्वारा पत्रकारमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय (सिडिओ) धनुषा अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषाको नेतृत्वमा संचारकर्मीहरूले “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई सुरक्षा देऊ” जस्ता नारासहित बिहान ११ बजेदेखि प्रशासन कार्यालयको मुख्य गेटमै धर्ना बसेका हुन्।

साउन २७ गते गुठी संस्थानबाट लिजमा लिएको जग्गा संरक्षणको क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि हिंसक आक्रमण गरेका थिए। उक्त घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

पीडित पत्रकारहरूले संलग्न पाँच वकिलविरुद्ध जाहेरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको भन्दै महासंघले सुरक्षा निकायप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

शनिबार बसेको पत्रकार भेलाले प्रहरी प्रशासनको लापरबाहीविरुद्ध आन्दोलन गर्ने निर्णय गर्दै आइतबारदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.