वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट, स्थानीय आक्रोशित
प्रसौनी (बारा), ११ भदौ :बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले रक्सी सेवन गरी स्थानीय एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएपछि स्थानीयबासी आक्रोशित भएका छन्।
स्थानीयका अनुसार वडाध्यक्ष कुशवाहाले व्यक्तिगत मनमुटावका कारण शिक्षकलाई घरमै थुनेर शारीरिक आक्रमण गरेका थिए। पीडित पक्षले तत्काल न्यायको माग गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन्।
जनप्रतिनिधिबाट यस किसिमको गैरकानुनी कार्य भएको भन्दै सर्वसाधारणले वडाध्यक्षमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। “जनताको हित र सेवाका लागि निर्वाचित जनप्रतिनिधिले यस्तो कर्तव्यविपरीत कार्य गर्नु निन्दनीय छ। यसमा कुनै पनि हालतमा राजनीतिक आडबाड दिनु हुँदैन,” स्थानीयबासीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय, बाराले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइने र कानुनअनुसार कारबाही हुने जनाएको छ।