राष्ट्रपति पौडेलद्वारा वार्ताका लागि आह्वान
काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका छन्। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिको समाधान राजनीतिक संवादमार्फत गर्न सकिने बताएका छन्।
राष्ट्रपति पौडेलकी स्वकीय सचिव अवज्ञा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन आह्वान गरेको जानकारी दिइन्।
यसअघि आन्दोलनरत जेन-जीहरूको मुख्य माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। सो राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरिसकेका छन्।
राष्ट्रपतिले संयमता अपनाई शान्तिपूर्ण समाधानका लागि सबैलाई आग्रह गर्दै मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन वार्ता नै उचित माध्यम भएको स्पष्ट पारेका छन्।