स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र रमाना दिन ताकेता
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र आफ्नो जिम्मेवारी स्थलमा उपस्थित भई कार्यभार सम्हाल्न ताकेता गरेको छ। मन्त्रालयले मगलबार परिपत्र जारी गर्दै हालसम्म पनि तोकिएको कार्यस्थलमा नपुगेका अधिकृतलाई तुरुन्तै रमाना दिएर काम सुरु गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार हालै सरुवा तथा पदस्थापन गरिएका केही प्रमाअहरूले तोकिएको स्थानीय तहमा हाजिर नगरेको गुनासो बढेपछि यो कदम चालिएको हो। मन्त्रालयले यस्तो कार्यलाई सेवा आचारसंहिताविपरीत भन्दै समयसीमा भित्र नपुगेमा कानुनी कारबाही समेत गरिने चेतावनी दिएको छ।
“निर्धारित स्थानीय तहमा सात दिनभित्र अनिवार्य रूपमा हाजिर नभए सेवासम्बन्धी कारबाही प्रक्रिया अघि बढाइनेछ,” परिपत्रमा भनिएको छ।
मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहमा प्रभाव नपरोस् भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतहरूलाई समयमा जिम्मेवारी ग्रहण गर्न आग्रह गरेको छ।
