Modern technology gives us many things.

हमासले सार्वजनिक गरेको युद्धबन्दी सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम छैन

काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमास लडाकुहरूले मुक्त गराउने भनिएका २० जना युद्धबन्दीको नामावली सार्वजनिक भएको छ। तर, उक्त सूचीमा नेपालका विद्यार्थी विपिन जोशीको नाम समावेश नभएको पुष्टि भएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सार्वजनिक नामावलीमा विपिन जोशीको नाम छैन। सोमबारभित्र मुक्त गराइने भनिएका २० जना सबै इजरायली नागरिक रहेको उनले जानकारी दिए।

“हमासले आज सार्वजनिक गरेको पहिलो चरणको सूचीमा विपिन जोशीको नाम छैन,” राजदूत पण्डितले भने, “सूचीमा रहेका सबैजना इजरायली नागरिक हुन्। हामी नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे निरन्तर जानकारी लिँदैछौँ।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षयता चलिरहेको युद्ध अन्त्य गर्न गत बिहीबार युद्धविराम सम्झौता भएको हो। उक्त सम्झौताको पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जना युद्धबन्दीलाई मुक्त गर्ने सहमति भएको थियो।

विपिन जोशी इजरायलको किभुत्ज शहरबाट हमास लडाकुहरूले अपहरण गरेको अनुमान गरिएको हो। उनले अध्ययनरत विद्यार्थीका रूपमा काम गर्दै आएका बेला हमासको आक्रमणपछि उनी बेपत्ता भएका थिए।

उनको अवस्थाबारे अझै पनि कुनै ठोस जानकारी नआएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। “हमास र इजरायलबीचको सहमतिको आगामी चरणमा विपिनको अवस्थाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ,” दूतावासका एक अधिकारीले बताए।

नेपाल सरकारले यसअघि नै विपिनको उद्धारका लागि इजरायल, कतार र इजिप्टमार्फत कूटनीतिक पहल जारी राखेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.