जीतपुरसिमरामा नदिजन्य पदार्थको ठेक्का बन्दोबस्तीमा ढिलाइ
बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८२-८३ का लागि दुधौरा, बालगंगा र पसाहा खोलाबाट नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा, माटो) उत्खनन तथा बिक्री वितरणको ठेक्का बन्दोबस्ती प्रक्रिया अझै सम्पन्न हुन नसकेको छ।कानूनी प्रक्रिया अधुरो रहनुका साथै केही वडाबाट सार्वजनिक सुनुवाइ ढिलाइ भएको कारण ठेक्का प्रक्रिया प्रभावित भएको उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख राम प्रसाद शर्मा पौडेलले बताए । उपमहानगरपालिका स्रोतका अनुसार, वडा नम्बर १६ ले समयमै सार्वजनिक सुनुवाइ सम्पन्न नगरेका कारण ठेक्का बन्दोबस्तीमा ढिलाइ भएको हो।उपमहानगरपालिकाले सो वडालाई पटक–पटक ताकेता गर्नुपरेको थियो। जानकारी अनुसार, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने प्रक्रियाअन्तर्गत उपमहानगरपालिकाले भाद्र १२ गते वडा नं. १६ लाई सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरेको थियो। तर सो पत्रको वेवास्ता गरिएपछि भाद्र १८ गते पुनः ताकेताको पत्र पठाइएको थियो।
त्यसपछिसमेत ढिलाइ हुँदै गएपछि असोज २२ गते मात्र वडा कार्यालयले सार्वजनिक सुनुवाइ सम्पन्न भएको जानकारी उपमहानगरमा पठाएको थियो।यस बीचमा प्रभाव क्षेत्रमा पर्ने वडा नं. १, ५,१४, १५, र १७ लगायतका वडाहरूले भने समयमै सार्वजनिक सुनुवाइ सम्पन्न गरेका थिए।तर वडा नम्बर १६ बाट ढिलाइ भएकाले प्रतिवेदन स्वीकृतिका लागि मधेश प्रदेश सरकारको वन मन्त्रालयमा समयमै पेश गर्न नसकिएको र त्यसैका कारण ठेक्का बन्दोबस्तीमा ढिलाइ भएको उपमहानगरपालिकाले स्पष्ट पारेको छ।उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८१-८२ मा पनि नदिजन्य पदार्थको ठेक्का गर्न नसकेको थियो। यस वर्ष भने १२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।
तर असोज १ गतेबाटै सुरु हुनुपर्ने ठेक्का प्रक्रिया ढिलाइ हुँदा सो लक्ष्य पूरा हुने सम्भावना कम हुँदै गएको छ।जीतपुरसिमरा उपमहानगरपालिकामा जनप्रतिनिधीहरूबीचको असहमति र मनमुटावले कामकाजमा बारम्बार असर पार्ने गरेको छ। कार्यपालिका र नगरसभामा बहुमत प्राप्त नेकपा एमालेका जनप्रतिनिधीहरू र माओवादी केन्द्रबाट निर्वाचित मेयर बीचको राजनीतिक द्वन्द्वले उपमहानगरका निर्णय र योजनामा प्रायः अवरोध सिर्जना हुने गरेको बताइन्छ।यसै बेमेलकै कारण यस वर्षको ठेक्का प्रक्रियामा समेत ढिलाइ भएको तथ्यहरू बाहिर आएका छन्।केही दिनअघि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ की वडाध्यक्ष चयन गुरुङ ले सामाजिक सञ्जालमार्फत खोलाको ठेक्का नलागेको विषयमा प्रश्न उठाएपछि मेयर र वडाध्यक्षहरूबीचको मनमुटाव फेरि सार्वजनिक बनेको थियो।
उनको फेसबुक स्टाटसपछि उपमहानगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिमा वडा नम्बर १६ ले सार्वजनिक सुनुवाइमा ढिलाइ गरेकाले ठेक्का अघि नबढेको उल्लेख भएपछि विवाद झन् बढेको हो। त्यससँग सम्बन्धित आन्तरिक पत्राचारहरू समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।तर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडाध्यक्ष हरिदेव खरेल ले भने आफ्ना कारण ठेक्का प्रक्रिया ढिलाइ भएको आरोपलाई अस्वीकार गर्दै सामाजिक सञ्जालमै लामो स्पष्टीकरण दिएका छन्। उनले आफूले समयमै प्रक्रिया अघि बढाएको र अनावश्यक रूपमा दोषारोपण गरिएको भन्दै आपत्ति जनाएका छन्।
१६ नं. वडाको दुईवटा खोलाबाट करोडौँ राजस्व संकलन गर्ने अनि बिकास बजेट ८६ लाख दिँदा मौन बस्नुपर्ने ? अनि १६ नम्बरले ढिला गरायो भनी भन्न लाज लाग्दैन् ? भन्नी फेसबुक स्टाँटसको ४ नम्बर बुँदामा वडा अध्यक्ष खरेलले लेखेका छन् । हाल प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको र स्वीकृति प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयबाट ठेक्का प्रक्रिया तुरुन्त अघि बढाइने उपमहानगरपालिकाले जनाएको छ।