Modern technology gives us many things.

पर्सामा नागरिकताकाे प्रतिलिपि निकाल्न एक महिना

जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकताकाे प्रतिलिपि लिन कठिनाइ भएको छ। नागरिकताकाे प्रतिलिपि लिन गाउँगाउँबाट आएका सेवाग्राहीलाई विभिन्न बहाना देखाएर कर्मचारीहरूले महिना दिनभन्दा बढी समय लगाउने गरेको पाइएको हो ।

एक दिनमै पाउने नागरिकताको प्रतिलिपि महिना दिनसम्ममा पनि नपाउँदा सेवाग्राहीहरू आक्रोशित भएका छन्। स्थानीय पालिका र वडाबाट सबै प्रक्रियासहितको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा पुग्दा नागरिकताको कार्ड लिन समस्या भएको उनीहरूको गुनासो छ। पकाहा मैनपुरनिवासी देवलाल पासवानले विगत १५ दिनदेखि आफ्नी श्रीमतीको नागरिकताको प्रतिलिपि निकाल्न जिल्ला प्रशासन कार्यालयमा धाउनुपरेको गुनासो गरे।

उनका अनुसार कर्मचारीहरूको लापरबाही र ढिलाइका कारण नागरिकताकाे प्रतिलिपि पाउन नसकिएको अवस्था छ। नागरिकताको प्रतिलिपि निकाल्न ग्रामीण क्षेत्रबाट जिल्ला प्रशासन कार्यालयमा दैनिक रूपमा आवातजावत गर्दा सवारी भाडामा नै हजारौँ रकम सकिएको उनको दुखेसो छ।

वीरगन्ज महानगरपालिका– १२ मुर्लीका हाकिम अन्सारीले पनि गएको तीन गतेदेखि जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि निकाल्नका लागि कार्यालयमा दौडधुप गरिरहेको दुखेको गरेका छन्।

उनले पटक–पटक नागरिकताकाे प्रतिलिपि निकाल्नका लागि उच्च अधिकारीहरूसँग समस्या सुनाए पनि केही सुनुवाइ नभएको बताए। उनका अनुसार कर्मचारीहरूको गैरजिम्मेवार जवाफ र कामका कारण नागरिकताकाे प्रतिलिपि निकाल्न समस्या भोग्नुपरेको अवस्था छ। वीरगन्ज महानगरपालिका– ३२ परसवानिवासी नथुनीप्रसाद सोनारले नागरिकता प्रतिलिपि पाउन १० गतेको समय पाए पनि उक्त प्रतिलिपि लिन नपाएको गुनासो गरे। एक दिनमा पाउनुपर्ने प्रतिलिपि यहाँका कर्मचारीहरूको उदासीनताका कारण एक महिना समय लाग्ने गरेको उनको भनाइ छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला रिजालले जिल्लामा नयाँ जिम्मेवारी सम्हालेकाले लामो समयदेखि रहेको यो नागरिकताको प्रतिलिपिबारेको समस्या बुझ्ने काम गरिरहेको बताए। उनका अनुसार पहिलेदेखि नै समस्या भएका कारण पहिचान गरेर चाँडै समाधान गरेर अगाडि बढ्दै छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोखरेलले पनि एक हजारभन्दा बढी संख्यामा पहिलेदेखि नागरिकताको प्रतिलिपिको फाराम रोकिएकाले अहिले समस्या देखिएको बताए।

Leave A Reply

Your email address will not be published.