Modern technology gives us many things.

नेपाल जनता पार्टीका अध्यक्ष सन्तोष नन्द महाराजलाई ज्यान मार्ने धम्की, प्रहरी अनुसन्धानमा

वीरगंज, २१ मंसिर
नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष सन्तोष नन्द महाराज (सन्तोष पटेल)लाई सामाजिक सञ्जालमार्फत खुलेआम ज्यान मार्ने धम्की आएको छ। वीरगंज महानगरपालिका–६ का नदीम अन्सारी नामक युवकले भिडियो पोस्ट गर्दै पटेलमाथि गम्भीर धम्की दिएको भिडियो सार्वजनिक भएको हो।
धम्की सार्वजनिक भएपछि अध्यक्ष पटेलले आइतबार पत्रकार सम्मेलन गरी अन्सारीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पर्सा प्रहरीले माग गरेका छन्।
उनले आफ्नै पार्टीले प्रेस विज्ञप्ति जारी गरी पर्सा प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग अन्सारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको बताए।
पत्रकार सम्मेलनमा पटेलले अन्सारीले सामाजिक सञ्जालमा राखेको भिडियो पनि प्रस्तुत गरेका थिए। उक्त भिडियोमा अन्सारीले हिन्दु धर्म र हिन्दु समुदायविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिंदै पटेललाई विभिन्न गम्भीर शैलीका धम्की दिएको स्पष्ट सुन्न सकिने देखिन्छ।
अध्यक्ष पटेलले आफू लामो समयदेखि हिन्दु समुदायका हक–हितका मुद्दामा सक्रिय रहेकाले आफूलाई नै लक्षित गरेर धम्की दिइएको दाबी गरे। उनका अनुसार आगामी चुनावमा पर्सा क्षेत्र नं. २ बाट नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बन्ने तयारी गरिरहेको हुनाले पनि आफू ‘निशाना’ बनेको हुन सक्ने बताए।
उनले भने, “यो केवल मेरो व्यक्तिगत सुरक्षामाथिको मात्र होइन, समग्र हिन्दु समुदायमाथिको अपमान र धम्की हो।”
धम्की प्रकरणपछि स्थानीय हिन्दु समुदायका प्रतिनिधि तथा नेपाल जनता पार्टीका कार्यकर्ताले अन्सारीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
घटनाले वीरगञ्ज क्षेत्रमा धार्मिक सद्भावमा असर पर्न सक्ने भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
पर्सा प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान थालिएको जनाएको छ।
अन्सारीले सार्वजनिक गरेको भिडियोमा हिन्दु धर्म, देवी–देवता, हिन्दु समुदाय तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसम्बन्धी अभिव्यक्तिहरू पनि आपत्तिजनक रहेको प्रहरी स्रोतले जनाएको छ।
भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
Leave A Reply

Your email address will not be published.