साढे चार वर्षपछि कलैयाबाट नाथु साह बिदा, रामविनय सिंहले सम्हाले कार्यभार
कलैया, साढे चार वर्ष सेवा दिएकी कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) नाथु साहको बिदाइ गरिएको छ। उनलाई शुक्रवार नगरप्रमुख विनोद प्रसाद साह, उपप्रमुख रौशन प्रविणसहित कर्मचारीहरूले सम्मानसहित बिदाइ गरेका थिए।
साह २०७८ असोज २२ गते कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका थिए र यसअघि पनि साविक कलैया नगरपालिकामा चार पटक सरुवा भएर कार्यरत भइसकेका थिए। अब उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोजपुर नगरपालिकामा सरुवा गरेको छ।
साहको स्थानमा पर्सा पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव रामविनय कुमार सिंह बुधबार कलैया उपमहानगरपालिकामा कार्यभार सम्हालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराका दुई उपमहानगरपालिका—कलैया र जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतहरूको एकसाथ सरुवा गरेको थियो। जीतपुरसिमरा उपमहानगरपालिकामा भने हालसम्म नयाँ अधिकृत पठाइएको छैन।