सर्लाहीमा चौकीदारको शव फेला, टाउको खोज्दै प्रहरी
रौतहट : सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु (चौकीदार)को हत्या भएको छ । हत्या गरिएको अवस्थामा शव फेला परे पनि हालसम्म टाउको फेला परेको छैन।
सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी सरोज राईका अनुसार ४७ वर्षीय वन रक्षक रामइश्वर महतोको शव घटनास्थल नजिकैको पोखरीमा फेला परेको हो ।
शरीर टाउकोबिनाको अवस्थामा भेटिएपछि पोखरीमा जाल हानेर खोजी गर्ने तयारी गरिएको डीएसपी राईले जानकारी दिए । उनका अनुसार जाल हान्ने व्यक्तिको खोजी भइरहेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक आशङ्का छ ।
प्रहरीले महतोको हत्या आशङ्कामा गाउँकै एक शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको भए पनि यसबारे आधिकारिक जानकारी भने दिएको छैन ।
शनिवार बिहान करिब ५ बजे जङ्गलतर्फ रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए । दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन ‘स्विच अफ’ भएपछि परिवार तथा छरछिमेकीले खोजी गर्दा उनको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र शव फेला परेको हो ।
घटनाको अनुसन्धानका लागि धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा खोजी कुकुरसमेत झिकाई घटनास्थल वरपर परिचालन गरिएको छ ।
वन चौकीदारको हत्या भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।